सुनसरी । चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिगको उपाधि इटहरीको डिभिएम स्कुलले जितेको छ ।
आइडियल स्पोट्र्स एकेडेमीको आयोजनामा इटहरी स्थित इनडोर क्रिकेट पिचमा बिहीबार सम्पन्न फाइनलमा कस्तुरी स्कुलमाथि ३ विकेटको जीत निकाल्दै डिभिएमले उपाधि जितेको हो ।

कस्तुरीले प्रस्तुत गरेको ४४ रनको विजयी लक्ष्य डिभिएमले ३ विकेट गुमाएर सहजै भेटाएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कस्तुरीका आदित्य अग्रवाल घोषित भए । वेस्ट ब्याटर महेन्द्र मेमोरियल स्कुल दुहबीका सौरभ मेहता र बलर बिश्वआदर्श स्कुलका सक्षम ढुङ्गाना घोषित भए ।
उदयमान खेलाडी पशुपति इंगलिस स्कुलका प्रयास राउत र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बिश्वआदर्शका प्रियांशु झा भए ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोसी प्रदेश अध्यक्ष सीमित थापा, क्यान सुनसरी उपाध्यक्ष सञ्जीव ढुङ्गाना, सचिव गोविन्द पौडेल, कोषाध्यक्ष ताहिर हुसेन लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा कोसी प्रदेशका २७ विद्यालयहरूको सहभागिता रहको थियो ।
सुनसरी जिल्लामा ग्रास रुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेल मार्फत सक्रिय राख्ने उदेश्व सहित प्रतियोगिता साउन २३ गते देखी सुरु भएको थियो ।
युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न र अभ्यासको निरन्तरता कायम गर्न प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।