विराटनगर । खट्यात्राको ९४औं र रथयात्राको ५७औं संस्करणको अवसरमा यस वर्षको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा विशेष आकर्षणसहित सुरु भएको छ। यसपटक नयाँ रथको प्रयोगसँगै रथयात्रालाई समर्पित विशेष गीत पनि सार्वजनिक गरिएको छ।
‘सनातनीको गौरव’ शीर्षकमा तयार गरिएको गीतलाई पहिलो पटक म्युजिक भिडियो स्वरूपमा सार्वजनिक गरिएको हो। विराटनगरस्थित श्रीराधाकृष्ण मन्दिर समितिले शनिवार आयोजना गरेको धार्मिक सभामा महानगर प्रमुख नागेश कोईरालाले उक्त गीतको विमोचन गरे ।
गीतमा पत्रकार नवीन कर्णको शब्द, सुरज श्रेष्ठको संगीत रहेको छ भने स्वर प्रवलदीप विश्वास र सुनिता कट्वालले दिएका छन्। साथै पिन्टू सन्याल, नितु चौधरी, रोहित पटेल र वर्षा गड्तौलाले कोरसमा आवाज दिएका छन्। विराटनगरको बिट्स स्टुडियोमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरिएको यो गीतको सम्पूर्ण संगीत संयोजन स्वयं श्रेष्ठले गरेका हुन्।
म्युजिक भिडियोमा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, पत्रकार नवीन कर्ण र अनुज सापकोटा लगायतले अभिनय गरेका छन्। साथै मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्णबहादुर कार्की र सचिव निर्मल पौडेल पनि विशेष भूमिकामा देखिएका छन्। भिडियोको निर्देशन कार्तिक राजवंशीले गरेका हुन् भने छायांकन धिरेन साह र रंग संयोजन पवनकुमार सहनीले गरेका छन्।
निर्माता विनिता कर्णका अनुसार गीतमा रथयात्राको ऐतिहासिकता, यसको गरिमा र धार्मिक–सामाजिक सन्देशलाई समेटिएको छ। गीतमा तीन दशकदेखि रथ सारथीको भूमिका निभाउँदै आएका पण्डित भवानी शंकर निरौलाको मौलिक उद्घोष शैली ‘गोपालकृष्ण, राधेकृष्ण’ पनि समावेश गरिएको छ।
विक्रम संवत् १९८८ सालदेखि मनाउन थालिएको श्रीराधाकृष्ण रथयात्रा आज सनातन धर्मावलम्बीहरूमाझ विश्वव्यापी आस्थाको केन्द्र बनेको छ। तर रथयात्रा विशेष गीत भने यसअघि कहिल्यै निर्माण भएको थिएन।