विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरेका छन्।

तीज पर्वको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले तीज केवल धार्मिक पर्व मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने बताए।

“तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई मजबुत बनाउने गर्दछ,” सन्देशमा उल्लेख छ, “यस अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता सुदृढ पार्ने संकल्प गर्न आवश्यक छ।”

मुख्यमन्त्री कार्कीले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न तीज पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले कोशी प्रदेश सरकार महिलाको हकअधिकार सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहेको र महिलाको हित प्रवर्द्धनका कार्यक्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता जनाए। साथै, बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुकका सबै पर्व र संस्कारलाई संरक्षण गर्नुपर्नेमा जोड दिए।