विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
डा. कोइरालाले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उखु किसानहरू सडकमा आउनु दुःखद् भएको बताए । उनले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग माग गरेका छन् ।
‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद् स्थिति हो। उनीहरूको माग तुरुन्त पूरा गरौं’, कोइरालाले स्टाटसमा लेखेका छन्।
उनले कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर ‘किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? ’ भन्ने प्रश्न पनि गरेका छन्।
‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने’, उनले लेखेका छन्‚ ‘देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’