सुनसरी । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको बताउनु भएको छ । विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी दुई दलिय सरकारले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भएको हो ।
जनताको अधिकार स्थापित गर्न र शासन पद्धतिमा सुधार गर्नुपर्नेमा सरकार भ्रष्ट्राचार र लुटतन्त्रमा फसेको महतोको भनाइ छ । संविधान संशोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बने पनि अहिले संविधान संशोधन गर्नुको बदला सरकार भ्रष्ट्राचार लगायतका विषयमा मात्र सरकार केन्द्रीत भएको महतोले जिकिर गर्नुभयो ।
रबि लामिछाने जस्ता सहकारी ठगहरू कांग्रेस र एमालेमा पनि रहेको भन्दै अध्यक्ष महतोले तिनीहरूलाई कारबाही गर्नुको साटो सरकारले जोगाएर राखेको बताउनु भयो ।
जनताको आशा र भरोसालाई सरकारले तोडेको महतोको भनाइ छ । जनता गरीब हुँदै जाने र नेता मोटाउँदै गएको भन्दै महतोले बालुवाटार, भुटानी शरणार्थी, गिरीबन्धु लगायतका काण्डमा ठूला दलका नेताहरु संलग्न भएको आरोप लगाउनु भयो ।
विकास र सम्मृद्धिका लागि जनताले ठूला दललाई पठाए पनि उनीहरूले सो काम नगरी लुटतन्त्रमा सहभागी भएको महतोले तर्क गर्नुभयो ।