विराटनगर । धनकुटाको चौबिसे गाउँपालिका र मोरगंको केराबारी गाउँपालिकाका बिचमा सीमा विवाद चर्किएको छ । खानेपानीको मुहानका विषयमा विवाद सुरु भएको हो ।
मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ जेफाले र धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ८ को सिमानामा रहेको भालु खोलाको पानीका मुहानको विषयलाई लिएर सीमा विवाद उत्पन्न भएको हो ।
केराबारी गाउँपालिका फाइवा गाउँका स्थानीयले भालु खोलाको पानी २०५० सालदेखि पाइप मार्फत तानेर उपभोग गर्दै आएका थिए । पाइपका माध्यमबाट सिधै तानेर ल्याएको पानी २ सय भन्दा बढी परिवारले खानेपानीको रूपमा उपभोग गर्दै आएका थिए ।
२०७४ सालबाट भने सङ्घीय सरकारको सशर्त अनुदान र प्रदेश सरकारको लगानीमा व्यवस्थित रूपमा एक घर एक धारा कार्यक्रम मार्फत केराबारी वडा नम्बर २ फाइवा गाउँका बासिन्दाले उपभोग गर्न थालेका छन् ।
२०७२ सालबाट सङ्घीय सरकारको सशर्त अनुदानमा प्रदेश सरकारले ५० लाख रुपैयाँको लगानीमा मोरङको केराबारी गाउँपालिका फाइवा गाउँमा सिंहदेवी २,३,४ र ५ खानेपानी उपभोत्त तथा सरसफाइ आयोजना सुरु गरेको हो ।
सो आयोजना २०७४ सालबाट सुरु भएपछि सुरु भएपछि केराबारी क्षेत्रका स्थानीयले खानेपानी र सिँचाइको सुविधा पाउँदै आएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले सिंहदेवी खानेपानी उपभोक्ता संस्थाको पानीको मुहान भन्दा केही माथिबाट लिफ्टिंग मार्फत पानी लाने आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।
५ करोड रुपैयाँ बजेट विनियोजन भएको सो आयोजना सम्पन्न गर्न अल्ट्रा सी पी जेभीले ठेक्का पारेको छ । लिफ्टिंग मार्फत भालु खोलाको पानी चौबिसेमा लैजाने गरी अहिले ठेक्का लागेपछि सीमा विवाद चर्किएको छ ।
केराबारीको क्षेत्रबाट पानी तानेर लागे तल्लो क्षेत्रमा पानीको हाहाकार हुने भन्दै फाइवा गाउँका स्थानीयले विरोध गरेका छन्।
सिंहदेवी खानेपानी उपभोत्त संस्था केराबारीका अध्यक्ष देवीलाल लिम्बुले चौबिसेमा पानी लैजाने गरीको अर्को आयोजना सुरु भएपछि पानीको हाहाकार हुने चिन्ता थपिएकाले विरोध गर्नु परेको बताए ।
उनले आफूहरूले उपभोग गर्दै आएको पानीको मुहानबाट चौबिसमा पानी गए केराबारी क्षेत्रमा पानीको हाहाकार हुने चिन्ता थपिएको बताए ।
उनले भने,“मुहानबाट पानी तानेर अन्यत्र लगेपछि पानी खान नपाइने हो की भन्ने चिन्ता थपिएको छ । सरकारले हेर्दै नहेरी बजेट विनियोजन गर्दा गाँउबासीका बिचमा विवाद सुरु भएको छ ।’
सङ्घीय सरकारले चौबिसमा खानेपानी आयोजना सुरु गर्न बजेट विनियोजन भएर ठेक्का लगाएपछि सिंहदेवी खानेपानी उपभोक्ता संस्थाले उच्च अदालतमा साउनमा रिट निवेदन दिएको थियो ।
रिट उपर साउन साउन ६ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उच्च अदालत विराटनगर धनकुटा इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशमा सुनुवाइ गर्दै साउन २० गतेको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिई रहनु नपर्ने आदेश दिएको छ ।
देशबहादुर कार्की र पुर्णेश्वरप्रसाद उपाध्यायको इजलासको उत्प्रेषणयुक्त परमादेशमा पानीको मुहान भने केराबारी २ मा नै रहेको र आयोजना स्थल भने धनकुटामा रहेको उल्लेख छ ।
चौबिसे गाउँपालिकाका प्रमुख राजकुमार लिम्बुले पानीको मुहान धनकुटा जिल्लामा रहेको दाबी गरे । उनले पानीको मुहान धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ८ मा रहेकाले खानेपानी आयोजना सुरु गर्न लागिएको बताए ।
उनले भने, अहिले पनि त्यो क्षेत्रमा मानिसहरू चौबिसेमा आएर मतदान गर्छन् । नागरिकता यहीबाट बनिरहेको छ त्यो जमिन कसरी केराबारीमा भयो ?
लिम्बुले ३२ सालको नापीले आयोजना स्थल धनकुटामा परेकाले आयोजना सुरु गर्न लागिएको बताए । उनले सो खानेपानी आयोजना निर्माण सम्पन्न हुँदा ४ सय परिवार लाभान्वित हुन् बताए । केराबारी गाउँपालिकाले भने आयोजना स्थल मोरङमा पर्ने दाबी गरेको छ ।