विराटनगर । सोलुखुम्बुको चिसो बिहानी । १८ वर्षीय तिब्री (काल्पनिक नाम) आफ्नो फोनमा आएको मेसेज पढ्दै थिइन् । ‘कामको अफर छ, वीरगन्जमा। कपडा प्याकिङ, राम्रो तलब।’ त्यो मेसेज पठाउने मान्छे खुद्रुङ (काल्पनिक नाम) थिए, जससँग उनी फेसबुकमा चिनजान भएकी थिइन्। सुरुमा सामान्य कुराकानी हुन्थ्यो, ‘के काम गर्छ्यौ?’, ‘घरमा को–को हुनुहुन्छ?’ अनि बिस्तारै ‘घरमा बस्नुभन्दा पैसा आउने काम गर्नु राम्रो, जागिर गर्नु पर्छ’ भन्ने सल्लाह दिन्छन् ।
खुद्रुङले आफ्नो बुबासँग पनि कुरा गराउँछन् । साइनो गाँस्छन् । तिब्रीले सबै कुरा परिवारलाई भनिन्, बुबाले अलि हिचकिचाए, तर खुद्रुङको मीठो बोलीमा विश्वास गरे।
२०८२ वैशाख १५, बिहानै तिब्री घर छाडेर मिर्चैयातर्फ लागिन्। त्यहाँ खुद्रूङले स्वागत गर्न पुगेका थिए । खुद्रुङले गाडी चढाए, वीरगन्ज पुर्याए। एक रात होटलमा राखेपछि भने, ‘फ्याक्ट्री यहाँबाट दुई किलोमिटर टाढा छ, ई–रिक्सा चढौँ।’ दुवै जना रिक्सा चढेर अघि बढ्छन् । अलिक अघि पुगेपछि उनले तिमि जाँदै गर म आउँछ भनेर खुद्रुङले तिब्रीलाई भन्छन् । पर्साको इनर्वा सीमा नाकामा तिब्री चढेको अटो रोकिन्छ। आफन्त नेपालका महिला उद्धारकर्ताले सोध्छन्, ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ ?’
तिब्री सुरुमा खुद्रुङले सिकाएझैँ झुट बोल्छिन् ‘म मामाको घर जाँदै छु ।’
तर जब उनीहरू भन्छन्, ‘यो भारतको सीमा हो’, तिब्रीको अनुहार फिक्का हुन्छ।
‘मलाई वीरगन्जमा काम गर्ने भनेर ल्याएको हो, भारत होइन,’ त्यसपछि तिब्रीले आफ्नो साँचो कुरा भन्न थाल्छिन् । त्यो बेलासम्म त्यहाँ खुद्रुङ हुँदैन । उसलाई कामको सिलसिलामा वीरगन्ज बोलाएर भारतीय बजारसम्म उसलाई लिएर जाँदै गरेको अवस्थामा उनको उद्धार हुन्छ । त्यसपछि यसरी मानव बेचबिखन तथा ओसारपसार गर्ने व्यक्तिको खोजी र पहिचान सुरु हुन्छ । यो घटनामा प्रहरीले महिला बेचबिखन तथा ओसारपसार विरुद्ध ती व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ।
यो एउटा उदाहरण हो, मानव बेचबिखनको वर्तमान अवस्था भयावह बनेको छ। पछिल्लो समयमा नेपालको कुनै पनि जिल्ला यसबाट अछुतो छैन । विभिन्न बहानामा नेपाली नागरिकहरू यस अपराधको जोखिममा पर्दै गएका छन्। तथ्यांकअनुसार, गत आर्थिक वर्ष ०८१/०८२ मा आफन्त नेपाल, शाखा कार्यालय पर्साले मात्र नेपाल प्रहरीको सहयोगमा ५ वटा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेको छ। यसै अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका २११ जना महिला, बालबालिका तथा किशोरीहरूलाई सीमा क्षेत्र तथा भारतका विभिन्न सहरहरूबाट उद्धार गरी स्वदेश फर्काइएको छ।
अधिकांश प्रभावितहरूलाई बिचौलियाहरूले सामाजिक सञ्जालमार्फत रोजगारी र आकर्षक तलबको प्रलोभन देखाई सीमा क्षेत्रमा ल्याएको वा सीमा पार गराएको देखिन्छ। अर्कोतर्फ, आन्तरिक बेचबिखन पनि तीव्र रूपमा बढ्दो अवस्थामा छ। वीरगन्ज सहरकै धेरै स्पा, मसाज सेन्टर, होटल तथा रेस्टुरेन्टहरूमा कलिला किशोरीहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइएको तथ्य बाहिर सार्वजनिक हुँदै आएका छन् । त्यति मात्र नभई, नेपालमा अलपत्र अवस्थामा रहेका भारतीय बालबालिकासमेत बिचौलियाहरूको चङ्गुलमा परेको अध्ययनहरूबाट देखिन्छ । उनीहरूलाई ‘संरक्षक बनी राम्रो खाने, लगाउने र काममा लगाइदिन्छु’ भन्ने आश्वासन दिँदै आफूसँगै राखी विभिन्न व्यक्तिहरूसँग पैसा असुली यौन धन्दामा पुर्याइने गरिएको छ।
नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा, विगत १९ वर्षदेखि भाद्र २० गतेलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका रूपमा सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। यस वर्ष पनि ‘तिनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ भन्ने नारासहित १९औँ राष्ट्रिय दिवस मनाइँदै छ । तर, वर्षमा १ दिन मात्र कार्यक्रम गरेर मानव बेचबिखनलाई न्यूनीकरण गर्न सकिँदैन भन्ने स्पष्ट भइसकेको छ। पीडितको वास्तविक समस्या, परिस्थिति र बाध्यता एकातर्फ छ भनेँ हाम्रा कार्यक्रम अर्कोतर्फ कुदिरहँदा यसको वास्तविकता खुट्याउन सकिएको छैन की भन्ने अनुभूति हुने गरेको छ।
वास्तवमै मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न चाहिने उपायहरू:
१. स्वदेशमै सम्मानजनक र सुरक्षित रोजगारीको व्यवस्था हुनु आवश्यक छ।
२. विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।
३. मान्छे बेचेर पैसा कमाउने मानसिकता समाजबाट हटाउनुपर्छ।
लेखक: आफन्त नेपाल पर्सा शाखाको कार्यालय प्रमुख हुन्।