विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नम्बर ५ जस्तो अति संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गरी कुनै पनि अप्रिय घटना हुन नदिई मतदान सम्पन्न गराउन सफल भएकोमा उनको उच्च मूल्याङ्कन गरिएको हो।
विशेषगरी जेन जेड आन्दोलनका क्रममा लुटिएको मार्का-४ राइफल बरामद गर्न, हिरासतबाट फरार प्रतिवादीहरू र अन्य विभिन्न मुद्दाका २२ जना फरार व्यक्तिहरूलाई पक्राउ गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यसैगरी आन्दोलनका क्रममा क्षति पुगेको दमकस्थित प्रहरी भवनलाई स्थानीय निकाय र समुदायसँग समन्वय गरी मर्मत सम्भार र आवश्यक उपकरणहरूको व्यवस्थापन गर्न समेत उनी सफल भएका छन्।
उनको कार्यकालमा फागुन महिनामा दर्ता भएका ३५ वटा मुद्दा मध्ये आन्दोलनसँग सम्बन्धित १० वटै मुद्दा फर्छ्यौट भएका छन् भने ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको छ। विभागीय मूल्य-मान्यता र आदेशको पालना गर्दै उच्च मनोबलका साथ पदीय उत्तरदायित्व निर्वाह गरी नागरिकलाई सुरक्षाको अनुभूति गराएको आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।

















