इटहरी । इटहरीमा क्रियाशिल सञ्चारकर्मीहरुले इटहरीको विकासमा सञ्चार माध्यम र स्थानिय पालिकाको भूूमिकाको विषयमा वैचारिक बहसको सुरुवात गरेका छन् ।
शुक्रबार इटहरीमा रहेका सञ्चार माध्यम र त्यसमा आवद्ध पत्रकार र अन्य क्रियाशिल सञ्चारकर्मीहरुले एक भेलाको आयोजना गरी पत्रकारिताको वर्तमान अवस्था, भोगिरहेका चुनौति र सम्भावनाहरुको खोजी गरेका छन् ।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले इटहरीको दिर्घकालिन विकास भित्रै सञ्चार क्षेत्रको विकास पनिसँगै हुने भएकाले विकासका मुद्धाहरुलाई प्राथमिकता साथ अगाडी ल्याउनुपर्ने बताए ।
कार्यक्रमको सुरुवातमा पत्रकार विवेक भट्टराईले इटहरीका मिडियाहरुको वर्तमान अवस्था, समस्या, सम्भावना र स्थानीय विकासमा निर्वाह गर्न सक्ने भुमिकाको बारेमा अवधारणा प्रस्तुत गरेका थिए । उनले मिडियाहरुले पनि समयानुकुल आफूलाई परिस्कृत गर्दै स्थानीय मुद्धाहरुलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका थिए ।
छलफलका क्रममा पत्रकारहरुले इटहरीमा सञ्चार क्षेत्रको विकासका लागि स्पष्ट सञ्चार नीतिको आवश्यकता रहेको औँल्याए । नीतिगत अस्पष्टता र मिडिया प्रतिको दृष्ट्रिकोण स्पष्ट नहुँदा मिडिया र स्थानिय पालिका बीचको सम्बधमा बारम्बार दरार आउने गरेको पत्रकारहरुले बताए ।
सहभागी पत्रकारहरुले पछिल्लो समय प्रविधि, बजार र पाठक तथा दर्शकको रुचीमा बद्लाव आएकोले मिडियालाई पनि त्यहीअनुसार परिष्कृत गर्न आवश्यक रहेको बताए । उनीहरूले पत्रकारितामा भाषा प्रयोग, सामग्रीको गुणस्तर र सहकार्य अनि स्थानीय विषयहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । आपसी सहकार्य र समन्वयको खाँचो रहेको उनीहरुको बुझाई थियो ।

छलफलमा कसले के भने ?
पत्रकार सुमन पुरीले पत्रकारितामा गेटकिपिङको अभ्यास कमजोर भएको र समाचारको तथ्य पुष्टि तथा क्रस–चेक गर्ने प्रक्रिया घट्दा पत्रकारितामाथि प्रश्न उठिरहेको बताए । उनले नयाँ मिडियासँग दूरी बढेको उल्लेख गर्दै युट्युब लगायतका डिजिटल प्लेटफर्मलाई कसरी समेट्ने भन्ने विषयमा पनि सोच्नुपर्ने धारणा राखे । उनले स्थानीय मुद्धाहरुमा समाचार लेख्दा जनप्रतिनिधिले गलत तरिकाले लिने गरेको बताए ।
पत्रकार मनोज दाहालले पत्रकारितामा सामाजिक सञ्जालका लाइक र भ्यूजको प्रतिस्पर्धा बढेको उल्लेख गर्दै परम्परागत मिडियालाई डिजिटल माध्यमसँग जोड्दै अघि बढ्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले इटहरीमा पत्रकारितामाथि विभिन्न किसिमका दबाब र आक्रमण बढेको उल्लेख गर्दै बजारको कमजोरी, विज्ञापन अभाव र दक्ष पत्रकारको पलायन जस्ता समस्या मुख्य चुनौतीका रूपमा रहेको बताए । उनले स्थानीय तहलाई मिडियाको महत्व बुझाउनुपर्ने आवश्यकता औँल्याए ।
पत्रकार सुविद गुरागाईंले स्थानीय तहमा सञ्चार नीति निर्माणका लागि संगठित पहल गर्नुपर्ने धारणा राखे । उनले मिडियाहरुबिच आपसी सहकार्य हुनुपर्नेमा जोड दिँदै नयाँ पत्रकार उत्पादनमा पनि ध्यान दिनुपर्ने बताए ।
पत्रकार बाबुराम खड्काले पत्रकारितामा निष्पक्षताको प्रश्न गम्भीर बनेको उल्लेख गर्दै उत्पादन गरिने सामग्री कति अर्गानिक र विश्वसनीय छ भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले पत्रकार महासंघले संस्थागत पहल गर्नुपर्नेमा जोड दिए भने विज्ञापनमा सामुहिक सहकार्य गर्नुपर्ने बताए ।
पत्रकार सुरेशचन्द्र दाहालले मिडियाको महत्व स्थानीय तहलाई बुझाउन आवश्यक रहेको बताए । उनले पत्रकारितामा दक्ष जनशक्तिको अभाव रहेको र नयाँ पुस्तालाई तालिम तथा व्यावसायिक ज्ञान आवश्यक रहेको धारणा राखे । उनले आपसमा सहकार्य गरेर सीपको आदान प्रदान गर्नुपर्ने बताए ।
पत्रकार गणेश निरौलाले समस्या पर्दा पत्रकारहरूबीच विभाजन देखिने गरेको उल्लेख गर्दै विचार फरक भए पनि पेशाप्रति इमान्दार भएर एकताबद्ध हुनुपर्ने बताए ।
पत्रकार सुप्रिया राईले अहिले पत्रकारितामा सिपको मूल्यांकन बढ्दै गएको बताउँदै काम गर्नेहरूका लागि अवसरहरू बढेर आएको धारणा राखिन् । उनले संगठनको आवश्यकता र एकअर्काबीच सहयोगको महत्व पनि औँल्याइन् ।
पत्रकार तेज वनले पुराना पुस्ताका पत्रकारहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए । उनले इटहरीमा सक्षम पत्रकारहरूको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
यस्तै पत्रकार सन्जीप तिम्सिनाले मिडियामा अहिले चुनौति देखिएको बताउँदै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
पत्रकार बाबुराम कार्कीले पत्रकार महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र संस्थागत संरचनालाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले इटहरीमा निर्माणाधिन पत्रकार महासंघको भवन अलपत्र रहेको बताउँदै अक्षयकोष लगायतको व्यवस्थापनमा गम्भीर भएर लाग्नुपर्ने बताए ।
पत्रकार रञ्जना पौडेलले पत्रकारहरूबीच एकअर्कालाई सहयोग गर्ने संस्कृतिको कमी रहेको बताउँदै आर्थिक समस्याका कारण मिडिया हाउसहरूले कर्मचारी टिकाउन कठिन भएको धारणा राखिन् । उनले पत्रकारका लागि स्वास्थ्य बीमा जस्ता सुविधाको आवश्यकता पनि औँल्याइन् ।
पत्रकार ज्योति पोख्रेलले पछिल्लो समय पत्रकारहरूलाई सुरक्षाको चुनौती बढ्दै गएको बताउँदै रिपोर्टिङका क्रममा असुरक्षा महसुस गर्नुपरेको अनुभव सुनाइन् ।
पत्रकार विकल पौडेलले मिडिया सकियो भन्ने नकारात्मक भाष्य बढिरहेको भए पनि पत्रकारितामा अझै धेरै सम्भावना रहेको बताए । उनले समाचारमा मात्र केन्द्रित रहने गरी जनशक्ति विकास गर्न आवश्यक रहेको बताए ।

पत्रकार लिलाराज भट्टराईले इटहरीलाई कुनै विशेष क्षेत्रको राजधानीका रूपमा विकास गर्ने सम्भावना इटहरीका मिडियाले देखाउन सक्ने बताए । उनले मिडिया साक्षरता र राजनीतिक साक्षरता बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
पत्रकार सचिन पोख्रेलले सञ्चारकर्मीहरूबीच नियमित सम्पर्क र समन्वयको वातावरण बनाउनुपर्ने बताए । उनले सञ्चारग्राम लगायत अवधारणामा गएर केही नयाँ गर्न सकिने धारणा राखे । उनले स्थानीय विकासका सवालहरुमा सबै मिडियाले एकसाथ काम गर्नुपर्ने बताए ।
पत्रकार चेतन धमलाले पत्रकारिताको विश्वसनीयता र प्रभावकारिता कमजोर हुँदा विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै गुणस्तरीय सामग्री उत्पादनले विश्वसनीयता बढाउने बताए । उनले मिडियाबारे आम नगरवासीलाई बुझाउनुपर्नेमा जोड दिए ।
पत्रकार समिर दुलालले पछिल्लो समय पत्रकारमाथि भौतिक आक्रमणका घटना बढेको उल्लेख गर्दै रिपोर्टिङका क्रममा सुरक्षाको चुनौती गम्भीर बन्दै गएको बताए ।
पत्रकार हिमाल दाहालले इटहरीको दिगो विकासका लागि सञ्चार क्षेत्रको भुमिका अग्रणी हुने बताए । उनले इटहरीमा सुरु भएको भोलिको इटहरी भिजन २०५० अभियानको स्वरुपको चर्चा गरेका थिए ।
इटहरीमा भएका कामको निगरानी, खबरदारी गर्ने र सर्वसाधारणका समस्याहरुलाई मिडियामार्फत् उजागर गर्न थप सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । उनले भोलिको इटहरी अभियानअन्तर्गत विभिन्न २१ वटा क्षेत्रको २५ वर्षे योजना बन्ने र त्यसले इटहरीको विकासमा नयाँ आयाम ल्याउने बताए ।















