विराटनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवस विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। विराटनगर–१६, रानी सीमा नाकामा शुक्रवार बिहान सचेतना र्याली निकालिएको छ। कार्यक्रम मानव बेचबिखन नियन्त्रण जिल्ला समिति मोरङको आयोजनामा गरिएको हो । कार्यक्रम मानव अधिकार सञ्जाल मोरङ, गैरसरकारी संस्था महासङ्घ मोरङ, माइती नेपाल, आफन्त नेपाल, साना हातहरू, नव अभियान नेपाल लगायत सीमा क्षेत्रमा रहेर निगरानी गर्ने सङ्घ–संस्था तथा सुरक्षाकर्मीहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
र्याली रानी नाकाबाट सुरु भई आसपासका सडक परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। सहभागीहरूले मानव बेचबिखन अन्त्य हाम्रो जिम्मेवारी भन्ने नारा लेखिएका प्लेकार्ड र ब्यानर सहित सीमा क्षेत्रका विभिन्न स्थानको परिक्रमा गरेका थिए ।
कोणसभामा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमा क्षेत्रमा सक्रिय विभिन्न संस्थाहरूले गरेको निगरानी र सहयोगको प्रशंसा गर्दै, मानव बेचबिखन रोकथामलाई सरकारी निकायबाट मात्र नभई सामुदायिक जिम्मेवारीको रूपमा लिनुपर्ने बताए । उनले पीडित पहिचान, उद्धार र पुनः स्थापनामा सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्य अझ सशक्त हुनु पर्नेमा जोड दिए ।मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीले सीमावर्ती क्षेत्रलाई बेचबिखनका लागि जोखिमयुक्त मानिँदै आएको भन्दै यसलाई रोकथाम गर्नका लागि समुदाय–प्रहरी साझेदारी बलियो हुनुपर्ने, वैदेशिक रोजगारी र विवाहका नाममा हुने प्रलोभन बारे जनचेतना बढाउने र डिजिटल माध्यमबाट हुने गतिविधिलाई सचेतना फैलाउने आवश्यकतामा जोड दिए। कार्यक्रममा सहभागी संस्थाहरूले आगामी दिनमा विद्यालय स्तरीय सचेतना कार्यक्रम, सीमामा सूचना डेस्क, होटल–सार्वजनिक सवारी साधनहरूमा सचेतना, व्यवसायीसँग सहकार्य गर्दै जोखिम सङ्केत पहिचान गर्ने तालिम सञ्चालन गर्ने कार्य योजना सार्वजनिक गरे।
प्रत्येक वर्ष भदौ २० गतेलाई नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि दिवसलाई अवसर पारे कार्यक्रमहरू भएका हुन् । कार्यक्रमकाे सञ्चालन माइती नेपालका मनाेपरामर्शकर्ता गिताञ्जली शर्माले गरेकी थिइन्।