विराटनगर । १९ औं राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा  विराटनगरमा हातेमालो कार्यक्रम सम्पन्न भएको छ। माइती नेपाल विराटनगरको आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सीमा नाकामा निगरानी र सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडा कार्यालयका निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचबिखन जस्तो संवेदनशील अपराध नियन्त्रणका लागि अहिलेसम्म सीमा क्षेत्रमा गरिएको कामकाे बारेमा जानकारी गराइएको थियोे । कार्यक्रममा फ्री अ गर्ल संस्थाले सहकार्य गरेको थियो।

माइती नेपालका अनुसार विराटनगर वडा नम्बर १३, १५ र १६ मा निरन्तर रूपमा हातेमालो कार्यक्रम संचालन हुँदै आएको छ। यसअन्तर्गत सीमा क्षेत्रमा राति १० बजेसम्म निगरानी, रेलमार्ग निगरानीलगायत गतिविधि चलाइने गरिएको छ। माइती नेपालकी परामर्शकर्ता गिताञ्जली शर्माले स्थानीय जनप्रतिनिधिको सहकार्यमा निगरानी, पहिचान र तत्कालीन संरक्षणको कार्य गर्दै आएको जानकारी दिइन्। उनका अनुसार  जाेखिममा रहेका करिब १० जनालाई माइती नेपालले तत्कालीन संरक्षण प्रदान गर्न सक्ने बताइन् ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष सुर्यलतल यादव, वडा नम्बर १५ का अध्यक्ष प्रकाश साह, र वडा नम्बर १६ का अध्यक्ष उद्वव भुजेलसहित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हातेमालो गर्दै मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता प्रकट गरेका थिए।