विराटनगर । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागि कमल गाउँपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारीले दमक नगरपालिका घेराउ गरेका छन् ।
उनीहरू उग्र बनेपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेपछि नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् । दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिका तर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनका कारण अहिले नगरपालिका भित्र मेयर उप मेयर कर्मचारी सहित सेवाग्राही भित्रै थुनिएका छन् । नगरपालिकामा प्रदर्शनकारीले ढुङ्गा मुडा प्रहार गरिरहेका छन् ।
जेन जी पुस्ताले कोशी प्रदेशका विभिन्न जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेशको राजधानी, सुनसरीको इटहरी, दमक बिर्तामोड लगायतका प्रदेशका सहरहरूमा उनीहरूले प्रर्दन गरेका हुन् । प्रदर्शनमा सहभागी हुन आउनेहरू अधिकांश कलेजको पोशकामा छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।
यस्तै वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत नाराबाजी गरेका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर जेनजी पुस्ताका प्रतिनीधिहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई विरोधका कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

