सुनसरी । सुनसरीमा प्रहरी र जेनजी समूहका युवाहरू बिच झडप हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर इटहरीमा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।  बिहान ११ बजेदेखि आन्दोलन गरेका जेनजी समूहका युवाहरू दिउँसो इटहरी नगरपालिकाको गेटमा पुगेका थिए । त्यसपछि भित्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको थियो । झडप पछि केही बेर तितरबितर बनाउन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।  गोली लागेर घाइते भएका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार जारी छ। अर्का घाइते सशस्त्र प्रहरीका सहायक हवल्दार रहेको प्रहरीले जनाएको छ । एक दर्जन भन्दा बढी घाइते रहेको प्रहरीले जनाएको छ। उनको गालामा चोट छ । गोली नै लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । झापाको दमकमा गोली लागेर घाइते भएका १ जनाको पनि बिपीमै उपचार भइरहेको छ ।
त्यसपछि आक्रोशित भएका जेनजी समूहका युवाहरूले इटहरी उपमहानगरपालिमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रहरी प्रमुख सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।  अवस्था नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले यी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले भेला,जुलुस, प्रदर्शन गर्न नपाउने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको हो।  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेश अनुसार इटहरीको उत्तर तर्फ हलगडा नेपाली सेनाको ब्यारेक देखी पारुहागं चौक भित्र, पूर्व तर्फ मिलन चौक देखी जुट विकास भित्र, दक्षिण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बसपार्क क्षेत्र भित्र र पश्चिम तर्फ कलङ्की मोड देखी जनता बस्ती भित्र कुनै पनि आवतजावत, भेला, जुलुस,प्रदर्शन,सभा, बैठक घेराउ गर्न नपाउने अनिश्चित कालिन कफुर्य आदेशमा उल्लेख छ ।  प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरी आगजनी गरेका छन् । उनीहरूले मेयर हेम कर्ण पौडेलको कार्यकक्षमा आगजनी गरेका छन् । 
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गर्दै दर्जनौँ राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।  प्रहरीसँग कति घाइते छन् भन्ने समेत यकिन तथ्याङ्क छैन ।