विराटनगर । जेनजी युवाहरूले झापाको बिर्तामोड नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । जेनजी युवाहरूले  आगजनी गर्ने क्रममा झापाको बिर्तामोडमा प्रहरी र  जेनजी समूहका युवाहरू बिच झडप भएको छ। जेनजी युवाहरूले बिर्तामोड नगरपालिकाको कार्यालयमा पसेर आगजनी तथा तोडफोड गरेपछि प्रहरी प्रदर्शनकारी बिच झडप भएको थियो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनको लागि दर्जनौँ अश्रुग्याँस प्रहार गरेको छ भने, केही राउन्ड गोली चलाएको जनाएको छ ।  जेनजी युवा पुस्ताले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन् । साँझ मुक्ति चोकमा भेला भएको समूहले ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेको हो । सो क्रममा प्रहरीले दर्जनौँ राउन्ड गोली प्रहार गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको अवस्था  संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  भीड नगरपालिकामा प्रवेश प्रवेश गरेर तोडफोड गर्नुको साथै आगजनी गरेको प्रहरीले जनाएको छ।  कार्यालय परिसरमा भौतिक क्षति पुगेपछि तत्काल हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

झडपमा सुरक्षाकर्मी र जेनजी युवाहरू घाइते भएका छन् ।  कसैको खुट्टा, कसैको टाउकोमा चोट लागेको उनले बताए ।  गोली लागेर घाइते भएको भन्ने हल्ला भए पनि प्रहरीले त्यसलाई पुष्टि गरेको छैन। एक जना गम्भीर घाइते भएका व्यक्तिलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।  

प्रहरीका अनुसार, भीडको अगाडिपट्टि विद्यार्थी पोसाकमा रहेका केही युवाहरू शान्त देखिए पनि पछाडिबाट ढुङ्गा प्रहार गर्ने काम भएको छ । झापाका प्रमुख स्थानहरूमा अहिले थप सुरक्षाकर्मी परिचालन गरिएको छ। दमक, बिर्तामोड, गौरीगञ्ज लगायतका क्षेत्रमा जेन्जी समूह अझै सक्रिय देखिने क्रम जारी रहेको प्रहरीको भनाई छ।