विराटनगर । कोशी प्रदेश सभा सचिवालयले  तोडफोड र लुटपाटमा हराएका सामग्री फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ। सचिवालयमा रहेका सवारी साधन (गाडी, मोटरसाइकल), कम्प्युटर, ट्याबलेट, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सर, क्यामेरा, ए.सी., टिभी, कुर्सी, टेबल लगायतका सामग्री तोडफोड तथा लुटपाट भएका कारण ती सामान फिर्ता दिन वा जानकारी दिन अपील गरेको हाे।

प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यद्वारा जारी सूचनामा भनिएको छ, `जो कसैसँग पनि यस्ता सामग्री भेटिएको भएमा सचिवालयलाई बुझाइदिनु वा जानकारी गराउन हार्दिक अनुरोध गर्दछौं।´ यसैगरी, व्यक्तिले आफ्नै घरमा वा अन्यत्र फेला परेको सामग्री बुझाउन नसके वा लुकाएमा कानूनी कारबाही अघि बढाइने समेत चेतावनी दिइएको छ।

यस अभियानलाई सफल पार्न स्थानीय समुदाय, सर्वसाधारण नागरिक तथा सरोकारवाला सबैलाई सहयोग गर्न सचिवालयले आह्वान गरेको छ।जेनजी आन्दोलनमा २४ गते प्रदेश सभा भित्र रहेका सामाग्री लुटपाट गर्नुका साथै आगजनी भएको थियाे । आगजनी पछि समेत लुटपाट भएको थियाे ।