सुनसरी । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सुनसरीका स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारबाट सेवा प्रवाह सुरु गरेको छ ।

गाउँपालिकाको भवन पूर्ण रुपले क्षति भएपछि कार्यालय परिसरमा रहेका पार्किङ स्थलमा टेबल कुर्सी राखेर सेवा प्रवाह सुरु गरिएको अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए । लामो समयसम्म सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेपछि कार्यालयको सम्पूर्ण काम आजबाट सञ्चालन गरिएको उनको भनाइ छ ।

प्रदर्शनका क्रममा सुनसरीका अधिकांश स्थानीय तहको कार्यालयमा आगजनी भएको थियो । बढी क्षति भएको इटहरीसहित दुहबी, कोसी, रामधुनी लगायतका स्थानीय तहमा सेवा प्रवाह हुन अझै केही दिन लाग्ने ती स्थानीय तहहरूले जनाएका छन् ।