विराटनगर । भदौ २४ गते विराटनगर महानगरपालिका वडा नम्बर १३ को कार्यालयमा केही युवाहरू आए । नारा जुलुस सुरू भएपछि वडाध्यक्ष सूर्यलाल यादवले प्रहरी निरीक्षकलाई फोन गरेर प्रहरी पठाइदिन भने ।
प्रहरीबाट जवाफ आयो ‘अध्यक्ष ज्यू तपाईँ अहिले तत्काल मोबाइल स्वीच अफ गरेर सुरक्षित स्थानमा जानु होला । हामी आउन सक्ने अवस्थामा छैनौं । आफ्नो सुरक्षा आफै गर्नु होला ।’
यादवले फोन गर्नुअघि वडा कार्यालयको अवस्था भड्किएको थिएन । तोडफोड भएको थिएन । उनले मोरङका प्रहरी प्रमुखलाई फोन गरे । अध्यक्ष यादवलाई प्रहरी प्रमुखले भने,‘तपाईँ सुरक्षित स्थानमा जानु होला । हामी आउन सक्दैनौं ।’
अध्यक्ष यादवले सुनाए, अब आफ्नो घर र गाउँ छाडेर कहाँ जाने ? यहाँ भन्दा सुरक्षित स्थान कहाँ होला ? उनले आफन्तहरूलाई बोलाए र कोही आए प्रतिकार गर्ने भनेर घरमै बसे । केही बेरमा उनलाई खोज्दै घरसम्म आए । गाउँलेसहित आफन्तहरू प्रतिकारमा उत्रिएपछि जोगिए । उनको घरमा आगजनी र तोडफोड भने नभए पनि वडा कार्यालय भने ध्वस्त पारियो । कार्यालयमा आगो लगाइएको छ । सामान लुटेर लगियो ।
आन्दोलनका क्रममा अराजक समूहले महानगर कार्यालयसँगै अधिकांश वडा कार्यालय र वडाध्यक्षको घरमा समेत आगो लगाएका छन् । अहिले ती वडा कार्यालयको नागरिक सेवा ठप्प छ ।
स्थानीय तह र वडा स्तरमा सेवा पुनः सञ्चालन कसरी गर्ने भन्ने विषयमा कोशी प्रदेश संवाद समूहले आइतबार आयोजना गरेको छलफलमा सहभागी वडाध्यक्षहरूले तत्काल सेवा सुरू गर्न सक्ने अवस्था नभएको बताएका छन् । उनीहरूले वडाको मर्मत सम्भार गरी सेवा प्रवाह गर्न कम्तीमा तिहारसम्म समय लाग्ने बताए ।
वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले कार्यालयमा अहिले केही पनि नभएको बताए । कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री नहुँदा सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ ।
गिरी भन्छन्, ‘नागरिकहरू अहिले नै सेवा लिन आउन थाल्नु भएको छ । हामी काम गर्न सक्ने अवस्थामा नै छैनौ । यसले गर्दा नागरिकमा थप निराशा पैदा भएको छ ।’
४ का अध्यक्ष जितन थापाले भदौ २४ गते नै राजीनामा दिए । घरमा तोडफोड गर्न थालेपछि आन्दोलनकारीले राजीनामा दिन बाध्य बनाएको उनको भनाइ छ ।
‘बिहानदेखि रातिसम्म नागरिकको सेवामा खटिँदा पनि घरमा तोडफोड भएपछि के का लागि अध्यक्ष भएर काम गर्ने ? कसका लागि काम गर्ने । काम गर्न सक्ने अवस्थामै छैनौं’, थापा सुनाउँछन् ।
क्षतिग्रस्त विराटनगर महानगरपालिकाको कार्यालय ।
अत्यावश्यक काम सुरू
आन्दोलनका क्रममा प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको मूल कार्यालयमा आगो लगाइएको छ । आगजनीका कारण महानगरको प्रशासनिक कार्यालयमा रहेको कागजपत्र, फर्निचर र कम्प्युटर जलेका छन् । केही फुटाइएका छन् भने आन्दोलनपछि लुटपाट भएको छ । जसका कारण सेवा प्रवाह ठप्प छ ।
वडाध्यक्ष गिरीले वडाको दुई भवन जलेर पूर्ण रूपमा ध्वस्त भएको बताए ।
‘स्वास्थ्य र प्रशासनिक भवन दुवै जले, अत्यावश्यक सामग्रीसमेत जलाइयो, धारादेखि शौचालयसम्म तोडफोड गरियो,’ उनले भने।
वडा नं ७ का अध्यक्ष मधुबाबु तिवारीले छापसहितका सबै कागजात जलेको बताए । लेटर प्याड र छाप बनाएर सिफारिसलगायतका अत्यावश्यक काम गर्न थालिएको उनको भनाइ छ ।
तिवारी भन्छन्, ‘विदेश जाने सिफारिसबाहेक कुनै सेवा दिन सकिएको छैन । स्वास्थ्य सेवा चाहिा निरन्तर छ । नागरिकता, नापी, बसाइसराइ, नाता प्रमाणितजस्ता काम गर्न सकिएको छैन ।’
वडा नं ८ का अध्यक्ष राम पोखरेलले छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस जारी रहेको बताए । एउटा वडाले सेवा दिने अर्कोले नदिँदा जनतामा थप समस्या भएको उनको भनाइ छ ।
पोखरेलले भने,‘हामी अहिले काम गर्न सक्ने अवस्थामा नै छैनौं । कसरी काम गर्ने रु के का लागि काम गर्ने जस्तो भएको छ ।’
२ का अध्यक्ष कुमार पोखरेलले कार्यालयमा भएका कम्प्युटर, प्रिन्टर र दर्ता(चलानी सामग्री चोरी भएपछि काम ठप्प भएको बताए । ‘यी उपकरण खरिदको जिम्मेवारी सरकारले लिनुपर्छ, वडाले मात्रै सम्हाल्न सक्दैन,’ उनले भने ।
वडा नं १२ का अध्यक्ष हीरालाल कामतले आन्दोलनकारीबाट वडा कार्यालय जोगाउन दिनभरि प्रयास गरे ।
‘प्रहरी नै विस्थापित भएपछि म कार्यालय छाडेर हिँडे । प्रहरीले सुरक्षा दिन सक्दैनौं भन्यो । वडा अध्यक्षको घर नै खोजी हुन थालेपछि म पनि भागेर ज्यान जोगाएँ’, कामत भन्छन् ।
विशेष नगरसभाको माग
वडा कार्यालय भवनमा आगजनी र तोडफोड भएपछि अधिकांश कार्यालय बस्न नहुने अवस्थामा पुगेका छन् । ती कार्यालय अस्थायी रूपमा सञ्चालनका लागि कम्तीमा १५ लाख रूपैयाँ लाग्ने बताइएको छ । तर, वडा कार्यालय मर्मतका लागि बजेट नभएकाले समस्या भएको वडाअध्यक्षहरू बताउँछन् ।
बजेट विनियोजन भइसकेको अवस्थामा खर्च गर्ने अवस्था नभएको वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । उनको कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ ।
न्यौपाने भन्छन्, ‘ढोका भत्काइएको छ । खानेपानीको पाइप फुटाइएको छ । शौचालयहरू तोडफोड भएका छन् । यस्तो अवस्थामा मर्मत कसरी गर्ने यसका लागि कम्तीमा महानगरले बजेट विनियोजन आवश्यक छ । उनले विशेष नगर सभाको आयोजना गरी मर्मत सम्भारका लागि बजेट विनियोजन हुन पर्छ । उनले आफ्नो कार्यालयमा लेटर प्याड र छाप समेत नभएको बताए ।
‘अहिले वडाध्यक्षले नै सबै खाइसके भन्ने भाष्य स्थापित गरिएको छ । महानगरमा आउने दस्तुर र शुल्क पनि अध्यक्षले नै चलाएको जस्तो भएको छ’, ११ का अध्यक्ष श्याम घिमिरे भन्छन्, ‘हामीसँग कार्यालय मर्मत गर्ने बजेट छैन । चन्दा उठाएर अफिस चलाउन सक्ने अवस्था पनि रहेन । उनले नगर सभाबाट खरिद प्रक्रियालाई सहज बनाइनु पर्छ ।’
घिमिरेले अहिले सेवा दिन जनताले दबाब दिइरहेको बताए । कार्यालयमा सुरक्षाको पनि महसुस नभएको उनले सुनाए ।
आन्दोलनमा घुसपेठ हुँदा अराजक समूहले विराटनगरका अधिकांश सरकारी कार्यालयमा लगाए । जिल्ला प्रशासन कार्यालय अहिले टेन्टबाट चलाइएको छ । छ । कार्यालयमा तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक कुनै पनि सिफारिस नगर्न भनेको छ ।
अर्को सूचना जारी नभएसम्म सेवा रोक्न भनिएकाले काम हुन नसकेको वडाध्यक्षहरू बताउँछन् ।
उनीहरू भन्छन्,‘जनतामाझ थप अन्योल सिर्जना भएको छ । जनप्रतिनिधिलाई अपराधी ठहर्याउने प्रयासले मनोबल कमजोर बनेको छ ।’
विराटनगर महानगरका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले सुरक्षाको प्रत्याभूति बिना सेवा दिन नसकिने बताए ।
उनले भने, ‘अहिले जनताले दबाब दिइरहेका छन् तर कसरी काम गर्ने भन्ने अन्योल छ ।’
३ का वडाध्यक्ष बासुबहादुर बस्नेतले तिहार अगाडि सेवा दिन सक्ने अवस्था नै नरहेको बताए । उनले काम सुचारु गर्नका लागि काम थालेको भए पनि समय लाग्ने बताए ।
‘हामी अपराधी होइनौं’
वडाध्यक्ष जितन थापाले जनप्रतिनिधिलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको बताए ।
उनले भने, ‘हामी जनताको सेवक हौँ, तर वातावरण बिना सेवा दिन सक्दैनौँ । प्रदेशले कुनै पहल गरेको छैन, प्रशासनले पनि सुरक्षा दिन सकेको छैन ।’
उनीसँगै अन्य वडाध्यक्षहरूले आन्दोलनको नाममा आपराधिक गतिविधि भएको, व्यक्तिगत रिसिइबीका आधारमा कार्यालय जलाइएको जिकिर गरे ।
‘जहाँ वडावासीले सक्रिय भूमिका खेले, त्यहाँ कार्यालय सुरक्षित रहे, तर सुरक्षा दिने निकाय भाग्दा वडाहरू जले,’ उनीहरूको भनाइ थियो ।
संवादमा सहभागी सबै वडाध्यक्षहरूले विशेष नगर सभा बोलाएर मात्र नयाँ वातावरण बनाउन सकिने निष्कर्ष निकालेका छन् । उनीहरूको भनाइमा, सबै दल, टोल विकास संस्था र सरोकारवालासँग छलफल गरेर मात्रै सेवा पुनः सुरु गर्न सकिन्छ ।
वडाध्यक्ष कुमार पोखरेल सेवा दिने जाँगर नै मरेर गएको बताउँछन् । उनी भन्छन्, ‘विभिन्न आन्दोलन देखेको भए पनि अहिलेको जस्तो अराजक र हिंसात्मक कुनै देखिएन ।’