सुनसरी । जेनजी आन्दोलनका क्रममा इटहरीका मोहन सरदारको मृत्यु भएको दुई हप्ता हुँदा सम्म राज्यका कुनै पनि निकायले सहयोग नगरेको परिवारले गुनासो गरेको छ । 

आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई काज किरिया सहितको राहत दिने सरकारले घोषण गरेको थियो । तर हाल सम्म कुनै पनि सहयोग नपाएको मृतक मोहन सरदारका दाजु गवनलाल सरदारले जानकारी दिए । 

मृतकका दाजु सरदारले भने,‘सरकारले कुनै सहयोग दिएको छैन, कुनै सरकारी मान्छे भेट्न आएको छैन ।’

उनका अनुसार सङ्घीय, प्रदेश वा स्थानीय सरकारका कुनै पनि व्यक्तिहरू उनको परिवारमा सान्त्वना सम्म दिन सम्म पुगेका छैनन् । 
सङ्घीय सरकारले काज किरिया खर्च १ लाख र सहिद परिवारलाई १५ लाख दिने घोषणा गरेको छ ।

यस्तै कोसी प्रदेश सरकारले पनि काज किरिया खर्च १ लाख दिने निर्णय गरेको छ । तर यी घोषण भएका कुनै पनि राहत सरदार परिवारले नपाएको गुनासो गरेका छन् । 

सरदार परिवार अहिले काज किरियामा छ । मोहनकी श्रीमती मञ्जु सरदार किरियामा बसेकी छिन् । आर्थिक अवस्था कमजोर रहेको सरदार परिवारलाई खर्च गर्न समस्या रहेको मृतकका दाजु गवनलालले बताए । 

सरकारी पक्षबाट बेवास्ता झैँ भएको सरदार परिवारलाई सामाजिक सङ्घसंस्था तथा मनकारी व्यक्तिहरूले भने सहयोग उपलब्ध गराएका छन् । 
अमेरिकामा बस्दै आएका झापा शिबसताक्षी नगरपालिकाका नारायण अधिकारीले नगद १ लाख रुपैयाँ सहयोग गरेका छन् । अधिकारीले अमेरिकाबाट पठाएको १ लाख रुपैयाँ उनका दाजु गङ्गा बहादुर अधिकारी हस्तान्तरण गरेका हुन । 

सोमबार मृतक सरदारकी श्रीमती मञ्जु सरदारलाई अधिकारीले घरमै पुगेर नगद हस्तान्तरण गरेका हुन । आर्थिक अवस्था कमजोर भएको सञ्चार माध्यम मार्फत थाहा पाएपछि रकम उपलब्ध गराएको गङ्गा बहादुर अधिकारीले जानकारी दिए । 

प्राप्त भएको रकमले काज किरियामा खर्च गर्ने मृतकका दाजु गवनलालले बताए । 
इटहरी १४ को सुकुम्वासी बस्तीका सरदार निर्माण मजदुर हुन । ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दथे ।  

परिवारको आर्थिक अवस्था सुधार गर्न सङ्घर्ष गरिरहेका ४० वर्षीय सरदारको भदौ २३ गते जेन्जी आन्दोलनले रणमैदान बनेको इटहरीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
घटना भएको ४ दिन पछि मात्र उनको पहिचान खुलेको थियो । उनको भदौ २९ गते अर्का मृतक अभिषेक श्रेष्ठसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो ।