सनुसरी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गर्दा सेवा प्रवाह बन्द भएको  जिल्ला प्रशासन कार्यालय मोरङले आंशिक रुपमा सेवा सञ्चालन गर्ने  तयारी गरेको छ । 


आगजनी, तोडफोड गर्दा कार्यलयका कम्प्युटर, ल्यापटप, प्रिन्टर, सवारीसाधन लगायतका सामान जलेर नष्ट भएको थियो । प्रकाशसनको अत्यावश्यक कामकाज ठप्प भएको थियो।


तर आगजनी भएको कार्यालयलाई सरसफाई गरी  प्रशासनले केही अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सोमबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बुधवार ८ असोज देखि नावालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी र पेन्सन सिफारिस सम्बन्धी सेवा सुरु जनाएको छ। केही सेवा आंशिक रुपमा मात्र सुरु गर्न लागिएको प्रशासनले जनाएको छ । 


तर नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 


विभिन्न संघ संस्थाहरूको सहयोगमा कम्युटर, पंखा लगायतका सामानहरू प्राप्त गरेपछि सेवा प्रवाहलाई आंशिक सुरू गर्न लागिएको उनले जानकारी दिए ।


जेनजी आन्दोलनको क्रममा केही उछृङ्खल व्यक्तिहरूले भदौ २४ गते दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा आगजनी गरेका थिए । आगजनीबाट कार्यालयको प्रशासन शाखा बाहेक सबै शाखाहरू जलेर ध्वस्त भएका छन्।