विराटनगर । पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो जेनजी आन्दोलनको दबाबका बीच राजीनामा दिन बाध्य भए। मेयर तुम्बापोले आफ्नो राजीनामा अहिले पनि नगरपालिकामा दर्ता भइसकेको भए पनि कानुनी प्रक्रिया पूरा भएपछि मात्र स्वीकृत हुने स्पष्ट पारेका छन्।
उनले भने, `संविधान र कानुनले तोकेको मापदण्ड अनुसार राजीनामा स्वीकृत हुन्छ। त्यसपछि म एक मिनेट पनि पदमा बस्ने छैन।´
पदमा रहेर कहिल्यै कमिसन नलिएको र अनैतिक आचरण नगरेको दाबी गर्दै उनले चुनौतीसमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, `यदि मैले कसैलाई अन्याय गरेको छु भने जबाफदेही भएर छलफल गर्न तयार छु।´
तुम्बापोले आफू जनताबाट निर्वाचित प्रतिनिधि भएको भन्दै राजीनामाको विषय जनअभिमतसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन्। `जनतालाई बेवास्ता गरेर बस्न सकिँदैन। अन्ततः निर्णय जनता जनार्दनकै हुनेछ,´ उनले भने।
उनले पदप्रतिको कुनै मोह नरहेको दोहोर्‍याउँदै, कानुनी प्रक्रिया अनुसार राजीनामा स्वीकृत हुने दिनमै पदबाट अलग हुने बताए।