सुनसरी । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सुनसरीका दुई जना मृतकका परिवारले १९ दिनपछी सरकारी राहत पाएका छन ।

 इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडी प्रदर्शनकोक्रममा प्रहरीको गोली लागि मृत्यु भएका अभिषेक श्रेष्ठ र मोहन सरदारको परिवारलाई सरकारी राहत रकम प्रदान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मृतक दुवै युवाका परिवारको बैंक खातामा संघीय तथा प्रदेश सरकारबाट आएको राहत र क्षतिपूर्ति रकम पठाइएको मिश्रले जानकारी दिए । 

उनका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहत स्वरुप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रकम गृह मन्त्रालयबाट प्राप्त भएको थियो । कोशी प्रदेश सरकारबाट १ लाख रुपैया किरिया खर्चबापत जिल्ला प्रशासन कार्यालयमा आइपुगेको थियो ।

दुवै सरकारबाट प्राप्त रकम सम्बन्धित पिडित परिवारलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । 

सुनसरीको रामधुनी नगरपालिकाको तित्रिबना स्थायी घर भई इटहरीमा बस्दै आएका २३ बर्षीय श्रेष्ठ र इटहरी १४ पूर्बी गैसार घर भएका सरदार परिवारले सरकारी राहत रकम समयमै नपाएपछी बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले प्रदान गरेको सहयोग रकमले काजक्रिया गरेका थिए । 

यसैबिच जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते भक्तपुर ठिमी प्रहरीले गोली चलाउँदा मृत्यु भएका धरान उपमहानगरपालिका– ५ आँपटार चौरका साजन मेवाहाङको परिवारलाई भने राहत रकम प्रदान गर्न केही दिन समय लाग्ने मिश्रले जानकारी दिए ।

साजनको श्रीमती सहित बाबुआमा र दाईको समेत दुई बर्षअघि मृत्यु भएको थियो । दुई जना नाबालक छोराहरु मात्र रहेकाले इलाममा रहेका उनीहरुको आफन्त भेला गराई राहत रकम प्रदान गरिने मिश्रले जानकारी दिए । 

साजनले भक्तपुरमा डेरा गरी दुई नाबालक छोरा हुर्काइरहेका थिए । उनको निधनपछि ती बालकहरूको बिचल्ली भएको छ । साजनको किराँत मेवाहाङ योखोम्माले आर्थिक संकलन गरी दाहसंस्कारको काम सम्पन्न गरिदिएको थियो ।