विराटनगर । अविरल वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोला पसेको छ ।  बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय विस्थापित भएको प्रहरीले जनाएको छ।  झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको छ। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन् । उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ । प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पानी निरन्तर परिरहेको कारण पूर्व पश्चिम राजमार्ग अन्तरगत मेची नगर नगरपालिका वडा नम्बर ६ कालिखोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ  । शिवसत्ताक्षी १० मा आएको सुकुना खोलाको ह्युमपाइपमा क्षति पुर्‍याउँदा राजमार्गको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेकाहरूलाई आफन्तहरूले सुरक्षित सारेका छन् ।