विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पहिरोबाट प्रभावित भएका परिवारलाई राहत सामाग्री लिएर इलाम पुगेका छन् । शनिवारबाट आएको वर्षासँगै खसेको पहिरोबाट प्रभावित भएका परिवारलाई आवश्यक पर्ने राहत सामाग्री लिएर मुख्यमन्त्री इलाम पुगेका हुन् । उनले आजै स्थानीय पालिकासँगको सहकार्यमा इलामको मांसेबुग गाउँपालिका र इलाम नगरपालिका क्षेत्रमा रहेका प्रभावितहरूलाई राहत सामाग्री वितरण गरेका हुन् ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा गरेर दुई सय जनालाई पुग्ने गरी राहत सामाग्री लिएर मुख्यमन्त्री कार्की इलाम पुग्नु भएको बताए । उनले आजै इलामको माई नगरपालिका क्षेत्रका प्रभावितहरूलाई पनि राहत सामाग्री पुर्याउने तयारी भइरहेको बताए ।
जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार मातहतमा रहेका गाडीहरू जलाइएकाले राहत सामाग्री ढुवानीमा समस्या भए पनि हेलिकप्टरबाट भए पनि पीडित परिवारलाई राहत सामाग्री पुर्याउने बताए ।
अविरल वर्षासँगै आएको खसेको पहिरोका कारण इलाममा सबै भन्दा बढी क्षति भएको छ ।
इलाममा ३७ जनाको पहिरोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । पहिलो चरणमा इलाममा राहत सामाग्री पुर्याइने सरकारमा प्रवक्ता समेत रहेका मन्त्री भण्डारीले बताए । प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । मन्त्री भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेको थियो ।
उनले राहत सामाग्री पर्याप्त रहेको र सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् ।
‘प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयमा, विराटनगर भन्सार कार्यालयमा र इनरुवामा एउटा गोदाम बनाएको थियो । आन्तरिक मामिला मन्त्रालयको गोदाममा भने गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको थियो । बाँकी दुई गोदाममा रहेको राहत सामाग्री वितरणका लागि हिजैबाट तयारी भए पनि मौसम अनुकूल नभएका कारण प्रभावित क्षेत्रमा हेलिकप्टर जान नसकेको मन्त्री भण्डारीले बताए ।
कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज दिनभरिमा प्रभावित अधिकांश स्थानमा राहत सामाग्री पुराइने प्रयास रहने बताए । उनले इलाम जाने अधिकांश स्थल मार्ग पहिरोका कारण अवरुद्ध भएका कारण हेलिकप्टरबाट भए पनि राहत सामाग्री पुर्याइने बताए । उनले राहत र पुनर्स्थापनाका लागि केन्द्र सरकारको मुख ताकेर नबस्ने बताए ।