सुनसरी  । सुनसरीको झुम्का कारागारबाट भदौ २३ गते राति भागेका १ हजार ५७५ जना कैदीबन्दीमध्ये अधिकांश जबरजस्ती करणी मुद्दाका रहेका छन् । कारागारबाट भागेका ७ सय कैदी अझै फरार रहेका छन् । जेन‍-जी आन्दोलनका क्रममा भदौ २३ गते राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए ।

दिनभर शान्त रहेको कारागार राति एकाएक तनावग्रस्त बनेको थियो । आन्दोलनका कारण उक्त दिन दिउँसो देशभरका कारागारबाट कैदीबन्दी भागेको थाहा पाएपछि झुम्का कारागारका कैदी पनि आन्दोलनकारीको सहयोगमा फरार भएका थिए ।

कारागार प्रशासनका अनुसार उक्त दिन सुरुमा राति साढे १० बजे ब्लक ‘बी’ बाट करिब ४५० जना कैदी भागेका थिए । प्रहरी प्रशासन विस्थापित भइसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले पछि १ हजार ५७५ जना भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

अहिले कारागारमा १ हजार १ सय १८ जना मात्र कैदीबन्दी रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । उनका अनुसार फरार भएका ७ सयमध्ये अधिकांश जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका कैदी रहेका छन् । फरार भएर सम्पर्कबाहिर रहेका कैदीलाई प्रशासनले असोज २० गतेसम्म कारागार फर्किन आग्रह गरेको थियो । तर अधिकांश कैदी कारागार नफर्किएको जेलर लामिछानेले बताए । केही कैदी दसैं मनाएर फर्किएको र केही कैदी तिहार र छठ पर्वपछि फर्किन सक्ने अनुमान कारागार प्रशासनको रहेको छ ।

फरार भएका कैदीमध्ये अधिकांश आपराधिक मानसिकताका कैदीहरू कारागारको सम्पर्कमा नआएको जेलर लामिछानेले बताए । काठमाडौं र वीरगन्ज कारागारपछि देशकै तेस्रो ठूलो कारागार मानिएको झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक छन् । १ हजार ६ सय क्षमताको कारागारका दुवै ब्लकमा १ हजार ७९९ जना कैदी रहेका थिए ।