सुनसरी । मोन्था चक्रवातको प्रभावले वर्षा नरोकिएपछि सुनसरीका अधिकांश स्थानीय तहले आजको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मोन्था चक्रवातको प्रभाव अहिले कोशी र मधेश प्रदेशमा केन्द्रित हुँदा बिहीबार साँझदेखि लगातार वर्षा भइरहेको छ ।

अविरल वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुनसरीको इटहरी, इनरुवा, रामधुनी नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

बाँकी केही स्थानीय तहहरूको बैठक जारी रहेकाले उनीहरूको निर्णय आइनसकेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीले जानकारी दिए । उनका अनुसार ती स्थानीय तहहरूले विशेष सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको हुन् ।

रातिदेखिको अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवतजावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा शाखा अधिकृत तीर्थ गौतमले बताए ।