सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा एक मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले धरान उपमहानगरपालिकामा एक मतदान केन्द्र थप गर्ने निर्णय सहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो ।
मतदाताको अत्यधिक चाप रहेको भन्दै धरान उपमहानगरपालिका ११ मा एउटा मतदान केन्द्र थप गर्ने निर्णय सहित जिल्ला निर्वाचन कार्यालय सुनसरी मार्फत केन्द्रमा सिफारिस पठाइएको निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए । 
पौडेलका अनुसार धरान उपमहानगरपालिका ११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालय, न्यूरोड मतदान स्थलमा मतदाताहरूको चापलाई व्यवस्थापन गर्न वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस आएपछि प्रक्रिया अघि बढाइएको थियो ।
सिफारिस समितिबाट धरान ११ मा रहेको अनन्त शिक्षा आधारभूत विद्यालयमा मतदान केन्द्र संख्या २ (दुई) कायम गर्ने गरी १ हजार ७ सय ३ आंशिक मतदातालाई सार्नका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको पौडेलले जानकारी दिए । 
सुनसरीको श्रीलंका टापु सहित अन्य केही स्थानीय तहमा समेत मतदान केन्द्र थप्न माग भए पनि सीमित श्रोत र साधनका कारण यस पटक थप्न नसकिएको र अन्य स्थानीय तहका वडामा कायम रहेका मतदान स्थललाई यथावत् राखे सर्वसम्मत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
बैठकले मतदान केन्द्र निर्धारण सम्बन्धी मापदण्डमा भएका अनुसूची अनुसारको विवरण तयार गरी जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगमा पठाउने सर्वसम्मत निर्णय पनि गरेको छ ।