सुनसरी– मोरङको सुन्दरहरैचा स्थित गछिया बजारमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप हुने भएको छ ।
आयोजक गछिया युवा समाजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १५ गते देखी गोल्डकप सुरु हुने जानकारी गराएको हो ।
लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आव्हान, स्वास्थ्य रहन खेलकुदमा ध्यान भन्ने नारा सहित हुन लागेको गोल्डकप मङ्सिर २२ गतेसम्म चल्नेछ ।
विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउने गोल्डकपमा एक भारतीय सहित कोसी र मधेस प्रदेशका ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पाहुना टोली लिजेण्ट फुटबल एकेडेमी पश्चिम बङ्गाल, सहलेश फुटबल क्लब सिरहा, दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड उदयपुर, राष्ट्रिय जागृति क्लब इटहरी, जलथल फुटबल क्लब झापा र आयोजक गछिया युवा समाजले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र प्रत्येक खेलको म्यानअफद म्याचलाई ५ हजार १ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार रुपैयाँ पाउने छन् ।

















