सुनसरी  । विश्व फुटबल महासंघ (फिफा) को विश्वव्यापी कार्यक्रम ‘फुटबल फर स्कुल्स’ सुनसरीमा सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा शुक्रबारदेखि सुनसरीका १३ विद्यालयमा यो कार्यक्रम सुरु भएको हो ।

कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल संघको आयोजनमा धरानस्थित एन्फा एकेडेमी रङ्गशालामा कार्यकमको अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरे ।

फिफा र युनेस्कोको सहयोगमा सञ्चालित कार्यक्रमले विश्वभरका ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिका माझ फुटबल पुर्‍याउने लक्ष्य फिफाले लिएको छ ।

यो कार्यक्रम नेपालको ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने एन्फाका अध्यक्ष नेम्वाङले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत कुल ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिने उनले बताए । सुनसरीमा विभिन्न स्थानीय तहका १३ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको हो ।

यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पुर्‍याउनुका साथै विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने नेम्वाङले बताए ।