विराटनगर । उदयपुरको चौदण्डी गढी नगरपालिकामा मेयर कालुमान लामाले वडा नम्बर सातका  वडाध्यक्षलाई  पदमुक्त गरेको पत्र दिएका छन् ।
मेयर लामाले वडा नम्बर ७ का अध्यक्ष केशव अधिकारीलाई पद मुक्त गरेको पत्र दिएका हुन् । मेयर लामा र अधिकारी दुवै एमालेबाट निर्वाचित भएका हुन् । वडाध्यक्ष अधिकारीले केही समय अघि एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

यस्तै भदौ २३ र २४ गते भएको आन्दोलनमा पाटी कार्यालय तोडफोड र आगजनीमा समेत संलग्न भएको आरोप लागेको थियो । एमालेबाटै निर्वाचित भएका अधिकारीले पाटीको कार्यालयमा आगजनी र तोडफोडमा संलग्न भएपछि पाटीले कारबाही समेत गरेको छ  ।  मेयर लामाले वडा अध्यक्षलाई पद मुक्त गरेको पत्र दिएपछि वडा सदस्य  बलराम मगरलाई कार्य बहाकको जिम्मेवारी समेत दिएका छन् ।
 
लामाले भने, वडा कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक दिएका हौ । कार्यवाहक दिएपछि उहाँ फेरी अध्यक्ष भन्दै काममा फर्किनु भएको सुनेको छु । लामाले भने दल दर्ता सम्बन्धी ऐनमा भएको व्यवस्थाका आधारमा आफूले पत्र दिएको र कानुनी कारवाहीका लागि निर्वाचन आयोगमा समेत लेखेर पठाएको बताए । 

दल दर्ता सम्बन्धी  ऐन २०७३ मा भएको व्यवस्था अनुसार पद मुक्त गरेको दाबी गरे । उनले अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला पार्टी कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको बताए । 

पद मुक्त गरिएको भनिएका वडाध्यक्ष अधिकारीले आफू बस्ने कुर्सी र नेमप्लेट मेयरले लगेको बताए । उनले भने, मेरो कुर्सी र नेम प्लेट समेत  मेयर लामाले नगर प्रहरी लगाएर उठाएका छन् । उनले मेयरले पदमुक्त गरेको पत्र दिएर कुर्सी समेत उठाएर लगेपछि  प्रहरीमा ‘चोरी’को उजुरी दिएका छन्।