सुनसरी  । कोसी प्रदेशमा एक लाख ५७ हजार ६१३ नयाँ मतदाता थपिएका छन् । 
निर्वाचन आयोगले  पछिल्लो पटक गत असोज १० देखी मङ्सिर ५ गतेसम्मको अवधिमा कोसी प्रदेशका १४ जिल्लामा एक लाख ५७ हजार ६ सय १३ नयाँ मतदाता थपिएका हुन ।
विभिन्न निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ ती मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कार्यालयमै पुगेर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ जना छन् । 
राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६ सय ८८ मतदाता थपिएका छन् । यसअघि नयाँ मतदाता नामावली सङ्कलन गर्नुअघि कोसी प्रदेशमा गत असोज १० सम्म ३४ लाख ३३ हजार ९०० मतदाता रहेका थिए ।
नयाँ मतदाता थपिनेमा सबैभन्दा बढी मोरङबाट ४४ हजार ४०२ जनाको नाम दर्ता भएको । त्यसपछि क्रमशः झापाबाट ३५ हजार ३ सय १९, सुनसरीबाट ३२ हजार ३ सय ८२ जना नयाँ मतदाता थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३ सय ८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८ सय ८, तेह्रथुमबाट ३ हजार ६ सय ७७, धनकुटाबाट ३ हजार २ सय ७२ मतदाता थपिएका छन् । त्यसैगरी, भोजपुरबाट २ हजार ९ सय ९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट ५ हजार ९३२, उदयपुरबाट ८ हजार ७ सय १७ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतदातालाई समावेश गर्न फोटो सहितको नामावली सङ्कलन गरेको हो ।
आयोगले अहिले सङ्कलन भएका मतदाताहरूको नामावलीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।
यस अन्तरगत दोहोरिएका र पायक पर्ने स्थानबाट नामावली दर्ता गरेका मतदाताको विवरण अद्यावधिक गर्ने तथा त्रुटि सच्याउने कार्य हुनेछ ।