सुनसरी  । सुनसरी प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाटमा संगलग्नहरुलाई पक्राउ गर्न सुरु गरेको छ ।
प्रहरीले बुधवार इटहरीबाट तोडफोड, लुटपाट र दुर्व्यवहारमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएसँगै पक्राउ अभियान सुरु गरेको हो ।
कोसी प्रदेश अन्तर्गतका झापा र मोरङमा यसअघि पक्राउ गर्न सुरु गरिए पनि सुनसरीमा ढिलाइ भएको थियो ।
पहिलो चरणमा सुनसरीका विभिन्न ठाउँमा जेनजी आन्दोलनको आवरणमा आगजनी, तोडफोड र लुटपाटमा संगलग्नहरुलाई पक्राउ नगरेको भन्दै प्रहरीको तीव्र आलोचना भएको थियो ।
तोडफोड र आगजनीमा संगलग्नहरुको पहिचान भैसक्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै नागरिक तथा ब्यावशायीकस्तरबाट प्रशासनमा पटक पटक डेलिगेसन तथा ज्ञापनपत्र बुझाइएको थियो ।
तर प्रहरीले तत्काल पक्राउ गर्दा माहौल थप भड्किने भन्दै नियन्त्रणमा लिन सकेको थिएन ।
सुनसरीमा कार्तिक तेस्रो साता सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको निर्देशनमा प्रहरीले आगजनीमा संगलग्नहरुलाई पक्राउ गर्न थालेको हो ।
धरानमा व्यक्तिको घर तथा सरकारी कार्यालय तोडफोडमा संगलग्नहरु विरुद्ध नागरिक स्तरबाट जाहेरी दिए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । सुरुवातमै धरानबाट व्यक्ति पक्राउ गर्दा स्थिति असहज बन्न सक्ने अंकलन गर्दै प्रहरीले इटहरीबाट काम सुरु गरेको हो ।
आन्दोलनको क्रममा सबैभन्दा बढी इटहरीमा क्षति भएको थियो । इटहरीको इलाका प्रहरी, उपमहानगरको कार्यालय, प्रदेश टाफिक र यातायात कार्यालयमा आगजनी हुँदा पूर्णिमा ध्वस्त भएको थियो ।
राजस्व अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, कर कार्यालय सहित निजी घरमा समेत तोडफोड र आगजनी भएको थियो ।
ती कार्यालयमा आगजनी भएका बेलाको भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरूलाई पक्राउ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इँटहरिसँगै अन्य स्थानीय तहमा पनि प्राप्त प्रमाणहरूको विश्लेषण गर्दै घटनामा संलग्नलाई क्रमशः पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।