विराटनगर । विराटनगर–१४, मलया रोडस्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेजमा बीबीए २०२१ र बीएचएम २०२२ ब्याचका विद्यार्थीहरूको बिदाइ गरिएको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच क्याम्पस प्रमुख विनय विष्णु केसी, क्याम्पस प्रमुख महेश्वर प्रसाद सिंह, बीएचएम संयोजक शैलेन्द्र गनेश, बीबीए संयोजक अर्चना भट्ट, प्रशासन प्रमुख राजेश गुरुङसहित अन्य शिक्षक–कर्मचारी र विद्यार्थीहरूकाे उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हाे ।
समारोहलाई सम्बोधन गर्दै अर्चना भट्टले कलेजका विगतका दिनहरूको सम्झना गर्दै, शिक्षण–अध्ययनका क्रममा कहिलेकाहीँ गाली सुन्दा नमिठो लागे पनि ती सबै विद्यार्थीहरूको भविष्यकै लागि आवश्यक रहेको बताइन्। उनले सिकेका ज्ञान, सीप र अनुशासनलाई आगामी यात्रामा उपयोग गर्न आग्रह गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य कामना गरिन्।
विद्यार्थीहरूको तर्फबाट बोल्दै राजेश रोयले सुरुमा विश्वविद्यालय र कार्यक्रमबारे धेरै नबुझे पनि शिक्षकहरूको निरन्तर सहयोग र समन्वयका कारण आफूहरू बिस्तारै सुधार हुँदै आएको बताए। उनले क्याम्पसमा बिताएका दिनहरू स्मरणीय रहेको उल्लेख गर्दै शिक्षक तथा कलेज परिवारप्रति आभार व्यक्त गरे।
त्यसैगरी क्याम्पस प्रमुख महेश्वर प्रसाद सिंहले विद्यार्थीहरूलाई समयको महत्व बुझेर अघि बढ्न सुझाव दिए। उनले उद्यम, व्यवसाय तथा पेशागत जीवनमा समय नै सबैभन्दा ठूलो पूँजी भएको भन्दै योजनाबद्ध ढंगले क्यारियर निर्माण गर्न प्रेरित गरे।
कार्यक्रममार्फत कलेजले बीएचएम २०२२ ब्याचका ५० र बीबीए २०२१ ब्याचका २५ गरी कुल ७५ विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरेको क्याम्पस प्रमुख विनय केसीले बताए। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सास्थम कलेजले स्नातक तहमा बीएचएम र बीबीए तथा स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। होटल म्यानेजमेन्ट क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजले बीएचएम विद्यार्थीलाई नेपालसहित जापान, दुबई, बहराइन, माल्दिभ्सलगायतका देशका स्टार होटलहरूमा इन्टर्नशिपका लागि पठाउँदै आएको जानकारीसमेत कलेजले दिएको छ।
कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको सांस्कृतिक प्रस्तुति, शिक्षक–विद्यार्थीबीचको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमले माहोललाई झनै उत्साहपूर्ण बनाएको थियो।
















