विराटनगर । नेपाली कम्युनिस्ट पाटीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीलाई बलियो कम्युनिस्ट पाटीको आवश्यकता नरहेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिस्ट पाटीको विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै एमाले अध्यक्ष ओलीका कारण बलियो कम्युनिस्ट पाटी बन्न नसकेको बताए ।
उनले नेकपा फुटेपछि पनि एमालेलाई बलियो पाटी बनाउन आफूहरू लागेको बताए । उनले भने,‘एमालेलाई बलियो बनाउन माधव नेपाल सहित हामीले १० बुँदे सहमति गर्यौ । तर केपी ओलीले सहमति कार्यान्वयन गर्नु भएन । उहाँलाई बलियो पाटी नै आवश्यक ठान्नु भएन ।’
एकता सभामा अधिकांश समय एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्न समय खर्चिएका नेता रावलले जेन्जी आन्दोलनको सबै दोष समेत ओली माथि थुपारे । उनले भदौ २३ र २४ गते भएको आन्दोलनमा दमन गर्न ओलीले आदेश दिँदा पनि सुरक्षा निकायले साथ नदिएपछि हेलिकप्टर चढेर भागेको बताए ।
उनले फरक विचार बोकेका पाटीसँग मिलेर पनि मन्त्री र प्रधानमन्त्री पद बाँडिचुँडी खाएको आरोप समेत लगाए । रावलले नेपाली कम्युनिस्ट पाटी मार्फत स्वाधीन नेपाल र समृद्ध नेपालीको सपना पुरा हुने बताए । उनले नेपाली कम्युनिस्ट पाटीले भ्रष्टाचारको अन्त्य गर्ने दाबी गरे । उनले शिक्षा क्षेत्रको विकासका नेपाली कम्युनिस्ट पाटीको आवश्यकता रहेको बताए ।

















