विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा तयार विकास गर्नु पर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीको विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेका दाबी गरे । उनले राष्ट्र अहिले पनि सङ्कट मुक्त भई नसकेको अवस्था रहेको बताए । उनले भने, ‘ हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्य विहीनताको अवस्थामा पुग्यो । दुई दिन सम्म नेपाल रहने हो की होइन भन्ने अवस्थामा पुग्यो । ’
उनले जेन्जी आन्दोलन पछिको अवस्थालाई सम्झँदै त्यो बेला चारै तिर सन्त्रास भएको बताए । संयोजक प्रचण्डले नेपाली सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गरे । उनले भने,‘ अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरी पनि त्यस्ता घटना आउन सक्छन् ।’ उनले स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । उनले भने,‘ यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन । उनले भने, जनताको तागतले मात्रै साम्राज्यवादीहरूलाई पराजित गर्न सकिन्छ ।
उनले नेपाली कम्युनिस्ट पाटीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको बताए । उनले १६ वटा नेपाली कम्युनिस्ट पाटी बनेर एउटा पाटी बनेको इतिहासमा पहिलो चोटि भएको बताए । उनले भने,‘ हामी रूपान्तरण भएका छौ । हामी पुरानो तरीकाले चल्दैनौ । नयाँ तरिकाले जान्छौ भन्ने सन्देश हो ।’
उनले यो एकतालाई हल्का रूपमा नलिन चेतावनी दिए । उनले सरकारले देशमा शान्ति पूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउने आग्रह गरे । उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा लागेको बताए । उनले भने, हामी त निर्वाचनमा लागि सक्यौ सरकारले पनि त्यता तिर ध्यान देओस् । यो सरकारलाई दीर्घकालीन महत्वका शन्ती सम्झौता नगर्न चेतावनी दिए । उनले भने यो सरकार पूर्ण तय चुनावी सरकार हो । दीर्घकालिक महत्त्व राख्ने सन्धि सम्झौता गर्ने तर्फ यो सरकार नलाग्नुस् ।

















