सुनसरी । सिराहाको सहलेस क्लबले अन्तराष्टिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मोरङको सुन्दरहरैचास्थित गछिया बजारको मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा सहलेशले बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सहलेसलाई जिताउन रोमन भुजेलले गोल गरे । देवेन्द्र तामाङ, शिशिर लेखी र अबोयामी फकुन्ले जस्ता बिदेसी खेलाडी लिएर मैदान उत्रिएको सहलेसका लागि खेलको ५५ औँ मिनेटमा भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।

सहलेस अघिल्लो चरणको यात्रा तय गराउन निर्णायक गोल गरेका भुजेल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पानै सफल भए ।
सोमबार हुने दोस्रो क्वाटरफाइनल खेलमा आयोजक गछिया युवा समाजले पाहुना टोली लेजेन्ड फुटबल क्लब पश्चिम बङ्गाल भारतको सामना गर्नेछ ।
लागु औषधले लिन्छ ज्यान, गछिया युवा समाजको आव्हान, स्वास्थ्य रहन खेलकुदमा ध्यान भन्ने नारा सहित सुरु भएको गोल्डकप मङ्सिर २२ गतेसम्म चल्नेछ ।

विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउने गोल्डकपमा एक भारतीय सहित ८ टिमले सहभागी छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

















