सुनसरी  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा शर्माले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक चाँडै बोलाउने बताउनुभएको छ । मङ्गलवार प्रतिष्ठानको निरीक्षण गर्न आउनुभएकी मन्त्री शर्माले प्रतिष्ठानको सिनेट बैठकका तयारीमा आफू लागिपरेको बताउनुभयो ।
प्रतिष्ठानको समग्र विषयमा समेत प्रत्यक्ष जानकारी आवश्यक भएकाले आफू निरीक्षणमा आएको बताउँदै उहाँले चाँडै सिनेट बैठक बोलाइने जानकारी दिनुभयो । देशभरका अस्पतालको प्रत्यक्ष अवलोकन आफू निस्किएको उल्लेख गर्दै मन्त्री शर्माले स्वास्थ्य सेवा, औषधि आपूर्ति, बिमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताउनुभयो ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा लिन जनताले अनावश्यक सास्ती नहोस् भन्ने उद्देश्यले आफूले निरीक्षण थालेको उहाँले प्रस्ट पार्नुभयो ।
स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले  विभिन्न पक्षको सुझाव र सल्लाहको आधारमा कार्यान्वयन गरिँदै जाने बताउनुभयो । मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब तथा सार्वजनिक खरिद प्रक्रियामा समग्र सुधार अपरिहार्य रहेको उहाँको भनाई थियो ।
जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण, पारदर्शी शासन र स्वास्थ्यसहित सम्पूर्ण सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु नै प्रमुख लक्ष्य लिएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।