सुनसरी । पाहुना टोली लेजेन्ड क्लब पश्चिम बङ्गाल भारतलाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै आयोजक टिम अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक गछिया युवा समाजको सहज जीतमा प्रदीप बुढाथोकीले ह्याट्रिक सहित ४ गोल गरे । विजयी उरावले २ गोल गर्दा सन्तोष खत्रीले १ गोल थपे । बुढाथोकीले खेलको १२ औँ, ३७ औंं र ५६ औँ मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरे ।
६४ औँ मिनेटमा थप १ गोल गर्दै उनले आफ्नो व्यक्तिगत गोल संख्या ४ पुर्याएका हुन । उरावले खेलको ५३ औँ र ६९ औँ मिनेट गोल गरेका थिए । त्यसअघि खेलको १२ औँ मिनेटमा खत्रीले गोल गरेर आयोजक टिमको खाता खोल्न सफल भएको थियो । खेलको प्लेयर अफद म्याच प्रदीप घोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पारे । बुधवार हुने तेस्रो क्वाटर फाइनल खेलमा गाईघाट यूनाइटेड उदयपुर र जलथल फुटबल क्लब झापाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यसअघि सोमबार भएको उद्घाटन खेलमा सिराहाको सहलेस फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । मङ्सिर २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

















