सुनसरी  । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल कसैसँग गठबन्धन गरेर चुनाव लड्ने पक्षमा नरहेको बताएका छन् । 

सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले गठबन्धन गरेर चुनाव नलड्ने प्रस्ट पारेका हुन् । आफूलाई कुलमान घिसिङसँग मिलेर चुनाव लड्न अफर आए पनि त्यो सम्भावना नरहेको साम्पाङको भनाइ थियो ।

पार्टीको चुनावी अवधारणापत्र सार्वजनिक गरेको भोलिपल्टै बराहक्षेत्र पुगेर समर्थकलाई सम्बोधन गरेका साम्पाङले नेपालका कुनै पनि राजनीतिक दल चोखो नरहेको आरोपसमेत लगाए । धरान उपमहानगरपालिका प्रमुखसमेत रहेका साम्पाङले आफ्नै नेतृत्वमा गठन गरेको ‘श्रम संस्कृति पार्टी’ले संगठन विस्तार तीव्र पारेको छ ।

निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएलगत्तै अध्यक्ष साम्पाङ संगठन विस्तारका लागि विभिन्न जिल्ला दौडाहमा छन् । ठूला भनिएका दलहरू जेन-जी आन्दोलनपछि ‘पर्ख र हेर’को अवस्थामा रहेको बेला साम्पाङ नेतृत्वको पार्टीले पूर्वका आधा दर्जन जिल्लामा ठूला–ठूला सभा गरिसकेका छन् ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र थापेलगत्तै साम्पाङले काठमाडौंबाट सिधै मोरङको लेटाङ पुगेर पहिलो सभा गरे । त्यसअघि सुनसरीको तरहरामा चुनावीसभा गरेका साम्पाङको पार्टीले कात्तिक १८ गते पाँचथरको फिदिम, मंसिर ११ मा ताप्लेजुङ, १२ गते तेह्रथुम र १३ गते संखुवासभामा र १५ गते झापाको दमकमा आमसभा गरिसकेको छ । यी सभामा धेरैको अनुमानविपरीत उल्लेख्य सहभागिता देखिए ।

अध्यक्ष साम्पाङको पार्टीले मंसिर २० गते मकवानपुर, २१ गते चितवन, २२ गते काठमाडौं, २३ गते काभ्रे, २७ गते खोटाङ र पुस ५ गते बुटवलमा कार्यक्रम गर्ने मिति तय गरेको छ ।

श्रम संस्कृति पार्टी पूर्वमा मात्र केन्द्रित नभएर मेचीदेखि महाकालीसम्म संगठन विस्तार गर्ने चाहना रहेकाले संगठन विस्तार अभियानलाई अघि बढाइएको साम्पाङको भनाइ छ ।