सुनसरी । राष्ट्रिय जागृति क्लब अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मोरङको सुन्दरहरैचा स्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा झापाको दमक फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
राष्ट्रिय जागृतिको जीतमा प्रवेश बस्नेत र योगेन्द्र कार्कीले गोल गरे । खेलको ११ औँ मिनेटमा प्रवेशको गोलबाट अग्रता भएको जागृतिको तर्फबाट ३९ औँ मिनेटमा योगेन्द्रले  अग्रता दोब्बर बनाएर टिमलाई जिताए ।
खेलको प्लेयर अफद म्याच विजयी टिमका  योगेन्द्रघोषित हुँदै नगद ५ हजार १ सय रुपैयाँ हात पार्न सफल भए ।
बिहीबारको खेलसँगै गोल्डकपको सेमिफाइनल समीकरण पनि पुरा भएको छ । शुक्रवार हुने पहिलो सेमिफाइनल खेलमा सिराहाको सहलेस फुटबल क्लब गाईघाट युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो तथा अन्तिम सेमिफाइनलमा शनिवार आयोजक गछिया युवा समाजले राष्ट्रिय जागृतिको सामना गर्नेछ ।
मङ्सिर २२ गते हुने फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।