सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिवार सम्पन्न अन्तिम सेमिफाइनलमा इटहरीको राष्ट्रिय जागृतिले आयोजक गछिया युवा समाजलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मोरङको सुन्दरहरैचास्थित गछियाबजार मैदानमा शनिवार सम्पन्न अन्तिम सेमिफाइनलमा जागृतिलाई उपाधि नजिक पुर्‍याउन नाइजेरियन खेलाडी एलेक्सले निर्णायक गोल गरे ।
खेलको ३५ औँ मिनेट आयोजकका गोलकिपर मुकेश चौधरीलाई बिट गर्दै उनले आकर्षक गोल गरेका थिए ।
एरोन थापा, पदम भटराई एकराज बुढाथोकीलाई अनुबन्धन गरेर सेमिफाइनल खेलाएको आयोजक टिमको लागि जागृतिका डिफेन्डर बाधक बनेपछि गछिया युवा समाज सेमिफाइनलबाट बाहिरिन पुग्यो ।
खेलको प्लेयर अफ द म्याच विजयी टिमका खेलाडी एलेक्स घोषित हुनै नगद ५ हजार १ सय रुपैयाँ हात पारे ।
राष्ट्रिय जागृति र गाईघाट बिचको उपाधि भिडन्त सोमबार हुनेछ ।
गाईघाट यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सहलेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ । फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुनेलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।