सुनसरी । फागुन २१ गतेको निर्वाचनको लागि नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्‌नो एकल नाम सिफारिस गर्ने पूर्व मन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ ।
सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसकेको पनि  क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो ।
गच्छदार विगतमा १८ पटक मन्त्री भइसकेका छन् । गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले उम्मेदवार भगवती चौधरीसँग पाँच हजार बढी मतान्तरले पराजित भएका गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको एक नेताले जानकारी दिए ।
बुधवार दिनभर बसेको बैठकले अन्तत लामो रस्साकस्सी तीन जनाको नाम सिफारिस भएको छ ।
सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ  गच्छदार सहित वेद नारायण गच्छदार र  ओम कुमार थापाको नाम सिफारिस भएको छ । 
यसै गरी समानुपातिक तर्फ महेशप्रसाद बास्तोलाको नाम एक नम्बरमा सिफारिस हुँदा उनीसँगै दिलमाया डाँगी, प्रमीला गच्छदार, गोमा पराजुली सहित १३ जना सिफारिस भएको छ ।
राष्ट्रियसभाका लागी मेदिनीप्रसाद सिटौला, हरि सापकोटा, पन्छी वाइबा, दीपक राई,  कल्पना चौधरी, गुलाबी मिया, ध्रुव घिमिरे लगायत १५ जनाको नाम सिफारिस भएको छ ।
सुनसरी १ मा कोसी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघकी जिल्ला सदस्य रुक्मिना गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
यस्तै सुनसरी २ मा सिताराम मेहता, राजीव कोइराला र राजीव ढुङ्गानाको नाम मंगलबारनै सिफारिस भैसकेको छ ।
सुनसरी ४ बटा ज्ञानेन्द्र बहादुर कार्की, गफार मिया, अबुल हुसेन, डिल्ली कार्की र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ ।