विराटनगर । मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न सो विश्वविद्यालयले स्वीस सरकारसँग औपचारिक सम्झौता गरिसकेको छ । विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ । यो सम्झौतासँगै पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने तयारी रहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए ।
उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो ।

















