सुनसरी । जनता बहुमुखी क्याम्पसद्धारा आयोजित प्रथम जेएमसी अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलनमा एक सय १२ वटा अनुुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुने भएको छ । 


उच्च शिक्षामा नवीनता,अनुसन्धान र दिगोपनको मुख्य विषयमा आधारित रहेर बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरुले कार्यपत्र प्रस्तुुत गर्ने जनता बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष विकास केसीले जानकारी दिए । 


अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आगामी पुस ५ र ६ गते इटहरी स्थित जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुँदैछ । 

शैक्षिक सम्मेलनलाई प्रमुख वक्ताको रुपमा रहेका दुई विदेशी र दुई नेपाली प्रोफेसरहरुले सम्बोधन गर्ने छन् ।


त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन विभागका डिन प्रोफेसर डा.महानन्द चालिसे, त्रिवि सेनास( CNAS)का कार्यकारी निर्देशक डा. मिगेन्द्र कार्की, भारतको बाबा मस्तनाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. एच.एल. वर्मा र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेजका डा. प्रेम फ्याकले सम्बोधन गर्नेछन् । 


सम्मेलनमा विभिन्न कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनमा १५ वटा प्लेनरी स्पिच, फिचर्ड स्पिच ४ र एक प्यानल डिस्कसन हुनेछ । यस्तै कार्यक्रमलाई थप आकर्षक बनाउन कविता प्रस्तुति, विचार गोष्ठी,अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्याशला लगायतका कार्यक्रम राखिएको छ । 


सम्मेलनमा देश–विदेशका विभिन्न विश्वविद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाका प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक व्यक्तित्वहरु सहभागी हुने क्याम्पसले जनाएको छ । 

सम्मेलनले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक बहस र अनुसन्धानको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।