सुनसरी– बुहारीलाई जागिर नलगाइदिएको भन्दै इनरुवा नरपालिका ५ का वडाध्यक्ष अनिल पोखरेलले ठिक पार्ने धम्की दिएको भन्दै जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले सुरक्षाको माग गरेका छन् ।
वडाध्यक्ष पोखरेलले विगत एक महिना यता दिनहुँ बारम्बार धम्कीपूर्ण व्यवहार गर्दै मानसिक तनाव दिएको भन्दै डा. ठाकुरले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।
वडाध्यक्ष पोखरेलको धम्कीपूर्ण व्यवहारले आफू असुरक्षित बनेको भन्दै डा. ठाकुरले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई ज्ञापन पत्र बोधार्थ दिएका छन् ।
अस्पतालका प्रमुख समेत रहेका ठाकुरले अस्पताल सञ्चालन तथा व्यवस्थापनमा अनावश्यक दबाब, धम्की र हस्तक्षेप भएको भन्दै पोखरेल विरुद्ध कानुनी प्रक्रियामा जाने तयारी गरेको बताए ।
डा. ठाकुरले कानुनको परिधिभित्र रही अस्पताल सञ्चालन गरिरहेको अवस्थामा वडाध्यक्ष पोखरेलबाट पटक–पटक फोन मार्फत दबाब, धम्कीपूर्ण भाषा प्रयोग तथा कार्यालयमै आएर कार्यमा अवरोध पुर्याएको आरोप लगाएका छन् ।
उनले बुझाएको ज्ञापन पत्रमा वडाध्यक्ष पोखरेलले आफ्नी बुहारी सन्ध्या ढकाल पोखरेललाई जागिर नदिएपछि पछिल्लो समय दिन–रात जस्तोसुकै समयमा फोन गरी मानसिक दबाब दिइएको, कार्यालयमा आएर कागजात माग्दै धम्कीपूर्ण व्यवहार गरिएको उल्लेख छ ।

यस विषयमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष, इनरुवा नगरप्रमुख तथा सम्बन्धित निकायलाई मौखिक र लिखित रूपमा जानकारी गराइ सकिएको पनि डा. ठाकुरले जनाएका छन् ।
पोखरेलले दुई दिनअघि सामाजिक सञ्जाल मार्फत सार्वजनिक तथा व्यक्तिगत जीवनमा असर पर्ने टिप्पणी गरिएकोप्रति पनि डा. ठाकुरले ध्यानाकर्षण गराएका छन् ।
धम्की दिएको कल डिटेल सहित बुझाइएको ज्ञापन पत्रमा अस्पताल र परिवारप्रति कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्ष पोखरेलले लिनुपर्ने स्पष्ट गरिएको छ ।
घटनाको छानबिन गरी आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोसी प्रदेश स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको डा. ठाकुरले जानकारी दिए । वडाध्यक्ष पोखरेलले आफू जनप्रतिनिधि भएको नाताले अस्पतालको कामकारबाहीको विषयमा चासो राख्नु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
बुहारीलाई जागिर लगाउने विषयमा ठाउँ खाली भएको अवस्थामा राखिदिन आग्रह मात्र गरिएको पोखरेलको भनाई छ । अस्पताल विकास समितिको कमजोर भूमिकाको कारणले जिल्ला अस्पताल सुनसरीमा यसअघि पनि पटक पटक चिकित्सक माथि कुटपिट तथा दुर्व्यवहार हुँदै आएको थियो ।
गतबर्षको कार्तिक ३ गते तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई कुटपिट गरी अभद्र व्यवहार गर्ने नेपाली काँग्रेस इनरुवा नगर समितिका खेमराज थापालाई जिल्ला अदालत सुनसरीले ५ दिन कैद र ८० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
थापा इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका सहोदर भाइ हुन ।

















