सुनसरी । गत भदौ २४ गते जेनजीको प्रदर्शनको क्रममा ध्वस्त भएको यातायात व्यवस्था कार्यालय सवारी अनेक चुनौतीको सामना गर्दै लयमा फर्कन सङ्घर्ष गरिरहेको छ ।
भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी तथा तोडफोडबाट ध्वस्त भएको कार्यालयले अहिले अस्थायी संरचना निर्माण गरी सेवा प्रवाहलाई निरन्तरता दिएको छ ।
आन्दोलनको क्रममा कार्यालयमा आगजनी हुँदा ५ करोड २८ लाख बराबरको भौतिक क्षति भएको थियो ।
कार्यालय प्रमुख मानबहादुर देवकोटाका अनुसार ट्याक्टर शाखा बाहेक सबै शाखाका सवारी दर्ता किताब (ढड्डा) र सवारी साधनसँग सम्बन्धित सम्पूर्ण फायलहरू जलेर नष्ट भएका छन् ।
खरानी टकटक्याएर गत असोज २९ गतेबाट बाटो इजाजत पत्र, सवारी जाँचपाँस र अस्थायी बाटो इजाजत पत्र सेवा आंशिक रूपमा सुरु गरेको कार्यालयले कोसी प्रदेश सरकारको कार्तिक १६ गतेको बाधा अड्काउ फुकाऊ आदेश पश्चात् अस्थायी संरचनाहरूबाट आंशिक सेवा सञ्चालन गरेको थियो ।
अस्थायी संरचनाबाट कार्तिक ३० गते देखी सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याएको कार्यालय अहिले लयमा फर्किन प्रयासरत रहेको देवकोटाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले जेनजि प्रदर्शनको क्रममा कार्यालयमा तोडफोड तथा आगजनी भए पश्चात् सेवा प्रवाहमा आएको समस्याहरूलाई सम्बोधन गर्नका लागि बाधा अड्काउ फुकाऊ आदेश जारी भएको र उक्त आदेशपछि भदौ २३ पश्चात् कार्यालयले सम्बन्धित सेवा सुचारु नभए सम्मको समयलाई शून्य समय मानी त्यस अवधिका लाग्ने जरिवाना छुट गरिएको छ ।
देवकोटाले भने– सवारी दर्ता किताब तथा सवारी साधनहरूको अभिलेख जलेर नष्ट भएको अवस्थामा सवारी साधनहरूको अभिलेखीकरण, प्रतिलिपि जारी जस्ता विषयमा आवश्यक प्रक्रिया र कागजातहरूको बारेमा स्पष्ट पारिएको र आन्तरिक मामिला तथा कानुन मन्त्री स्तरीय निर्णय अनुसार बाधा अड्काउ फुकाऊ आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन र सेवा प्रवाहमा सरलीकरणको लागि परिपत्र भएको छ ।

आगजनीबाट ध्वस्त भएको कार्यालयबाट अहिले सम्पूर्ण सेवाहरू सुचारु भए पनि कार्यालयको भौतिक संरचनाहरू जलेर नष्ट भएकोले सवारी धनीका फायलहरूको सुरक्षामा चुनौती छ ।
सवारी साधनसँग सम्बन्धित सवारी दर्ता किताब (ढड्डा) र सवारी साधनसँग सम्बन्धित फायलहरू जलेर नष्ट भएकाले नामसारी, सरुवा तथा प्रतिलिपि जारी गर्न पुनः फायल खडा गर्नुपर्ने भएकोले सेवा प्रवाहमा ढिलाइ भए पनि सुधार गर्दै काम भइरहेको देवकोटाले जानकारी दिए ।
सवारी दर्ता प्रमाणपत्र ब्लु बुक हराएका सेवाग्राहीहरूको सवारीको अभिलेख खडा गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्नका लागि प्रमाण खुल्ने कागजातहरू जुटाउन सेवाग्राहीलाई समस्या हुने र यस अवस्थामा गलत मनसाय राखेर कैफियत भएका सवारी साधनहरूको सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी हुन सक्ने जोखिम समेत रहेको कार्यालयले जनाएको छ ।
यस्तै रिकण्डिसन व्यवसायीहरूले व्यक्तिहरूबाट सवारी साधन खरिद गरी प्रदेश आर्थिक ऐनले तोकेको कर तिरेर कार्यालयमा सनाखत समेत गराएका तर २४ गते भएको आगजनीको कारण सो सम्बन्धी कागजातहरू जलेर नष्ट भएको हुँदा त्यस्ता सवारी साधनहरूको स्वामित्व हस्तान्तरणमा समस्या रहेको कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार सवारी दर्ता किताब जलेर नष्ट भएको कारण विदेशमा रहेका नेपाली नागरिकहरूको सवारी साधनहरूको स्वामित्व हस्तान्तरणमा समस्या आएको छ ।
सवारी साधनहरूको प्रदूषण परीक्षण समेत यस कार्यालयले गर्दै आएकोमा प्रदूषण परीक्षण गर्ने उपकरण नहुँदा उक्त सेवा सञ्चालनमा समस्या उत्पन्न हुने गरेको छ ।
अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालयमा अहिले पावर व्याकअपको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या रहेको छ ।
सवारी साधनको जाँचपाँसको लागि पर्याप्त मात्रको प्राङ्गण नभएको साथै ठुला सवारी साधनहरू कार्यालयसम्म आउनका लागि सहायक मार्गमा पुल नहुँदा जाँचपाँसमा समस्या रहेको कार्यालयले जनाएको छ ।
आन्दोलनबाट ध्वस्त भएको कार्यालयमा सेवाग्राहीको अत्यधिक चापलाई ध्यान दिँदै आगामी दिनमा सेवालाई गुणस्तरीय बनाउन योजनाबद्ध रूपमा काम अघि बढाइएको देवकोटाले जानकारी दिए ।
उनका अनुसार स्विस विकास नियोगले प्राङ्गणको पश्चिम तर्फ निर्माण गर्दै गरेको भवनलाई पूर्ण रूपमा मोटरसाइकल शाखाको रूपमा विकास गरी मोटरसाइकल शाखाको नयाँ दर्ता, सरुवा दर्ता तथा नवीकरण सम्बन्धी कार्य गर्ने र क्षतिग्रस्त भवनको पुनः निर्माण र सबलीकरण गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको छ ।
सेवा सञ्चालनका लागि आवश्यक पर्ने थप कम्प्युटर, प्रिन्टर, फर्निचर तथा अन्य अत्यावश्यक सामग्रीको लागि प्रदेश सरकार तथा अन्य सहयोगी संस्थालाई अनुरोध गरिएको छ ।
छोटो अवधि र विषम परिस्थितिमा सेवा प्रवाहलाई बिस्तारै सहज बनाउँदै लगिएको र आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको देवकोटाको भनाई छ ।

















