सुनसरी । प्रसिद्ध पर्यटकीय क्षेत्र कोशीटप्पु यतिबेला अस्ताउँदो सूर्य (सूर्यास्त) को दृश्य अवलोकन गर्नेहरूको प्रमुख रोजाइमा पर्न थालेको छ। पछिल्लो समय सप्तकोशी नदीमा सूर्य अस्ताउँदै गर्दा देखिने मनमोहक दृश्य हेर्न यहाँ आन्तरिक पर्यटकहरूको निकै भिड लाग्न थालेको हो।
विशेषगरी बराहक्षेत्र नगरपालिकामा पर्ने (बोराबाँध) क्षेत्रबाट देखिने सूर्यास्तको दृश्यले धेरैलाई लोभ्याउने गरेको छ। साँझको समयमा विशाल सप्तकोशी नदीको बीचैमा सूर्य अस्ताउन लागेको र पानीमा तैरिरहेको जस्तो देखिने अद्भुत दृश्य कैद गर्न टाढा टाढाबाट मानिसहरू यहाँ पुग्ने गरेका छन्। 
पर्यटकहरूका अनुसार, कोशीको शान्त बहाव र अस्ताउँदो सूर्यको सुनौलो किरणको सम्मिश्रणले एउटा काल्पनिक क्यानभास जस्तो अनुभुति गराउँछ। बोराबाँध मात्र नभई कोशी तटबन्धका अन्य विभिन्न क्षेत्रहरूबाट पनि यो गोल्डेन आवरको आनन्द लिन सकिने भएकाले कोशीटप्पु क्षेत्र नयाँ सनसेट भ्यु प्वाइन्टका रूपमा विकसित भइरहेको छ।
सामाजिक सञ्जाल टिकटक र फेसबुकमा यहाँका सुन्दर भिडियो र तस्बिरहरू भाइरल हुन थालेपछि युवा पुस्ताको उपस्थिति झनै बाक्लो देखिएको छ। स्थानीय बासिन्दाका अनुसार, केही समय अघिसम्म सुनसान रहने यी क्षेत्रहरूमा अहिले साँझ पख मेला लागे जस्तै भिड हुने गरेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षको जैविक विविधतासँगै अब यहाँको रिभरसाइड सूर्यास्त पनि पर्यटक आकर्षणको बलियो माध्यम बनेको छ।























