सुनसरी । आयोजक नेपाल पुलिस स्कुलले सातौँ संस्करणको कोसी प्रदेश अन्तर विद्यालय डिआइजी कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीको धरानस्थित संघिय प्रहरी कार्यालयको मैदानमा बुधवार भएको उद्घाटन खेलमा आयोजक पुलिस स्कुलले वराहक्षेत्रको भरौल बाल मन्दिर माथि ५–० को फराकिलो जीत निकाल्दै विजयी सुरुवात गरेको हो ।
पुलिसको जीतमा समीर राईले ह्याट्रिक गरे । उज्ज्वल थापा र निश्चल खड्काले एक–एक गोल थपे । समीरले खेलको १६ औँ तथा दोस्रो हाफको ८ औँ र ११ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए ।
उज्वलले खेलको २४ औँ र खड्काले दोस्रो हाफको ६७ औँ मिनेटमा गोल गरेका थिए ।
खेलको म्यानअफद म्याच समीर घोषित हुँदै नगद १ हजार ५ रुपैयाँ पुरस्कार पाए ।
बिहीबारको खेल निदी सेकेण्डरी स्कुल झापा र वाल्मीकि स्कुल विराटनगरबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 
पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका १६ विद्यालय सहभागी छन् ।
विगत १६ वर्षदेखि हुन नसकेको प्रतियोगितालाई यस पटक देखी पुन निरन्तरता दिएको खेल संयोजक सागर लामा कार्कीले जानकारी दिए ।
विभिन्न कारणले २०६६ सालमा छैटौँ संस्करणपछि प्रतियोगिता हुन सकेको थिएन ।
प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट हुनेलाई जनही २ हजार ५ रुपैयाँ प्रदान गरिने र विजेता खेलाडीहरूलाई कक्षा ११ मा अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।