सुनसरी । सुनसरीको दुहबीमा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीय श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार घरायसी वादविवादका क्रममा मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए ।
छिमेकी र स्थानीयले घटनाबारे थाहा पाहुना साथ प्रहरीमा खबर गरेका थिए ।
दुहबी प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक शिव नारायण माझीको कमान्डमा २ जनाको टोलीले घाइते महिलाको उद्धार गरेको थियो ।
प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि नजिकै रहेको सामुदायिक अस्पताल पठाएको थियो ।
आगोले जलेर गम्भीर भएकी ती महिलाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
घाइतेको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ । आफ्नै श्रीमतीलाई जलाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।