मोरङ। ग्रामथान गाउँपालिकास्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। माईती नेपालको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा बाल संरक्षण, अनलाइन यौन शोषण, यौन तथा प्रजनन स्वास्थ्य, र ट्रमा–संवेदनशील हेरचाह जस्ता समसामयिक र संवेदनशील विषयहरूमा छलफल गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै माईती नेपाल मोरङका संयोजक बिनोद पोखरेलले संस्थाको पृष्ठभूमि र मानव बेचबिखन तथा यौन शोषणविरुद्ध भइरहेका प्रयासहरूबारे प्रकाश पारेका थिए । उनले सुरक्षित समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए। मुख्य सत्रको सहजीकरण गर्दै मनोपरामर्शकर्ता गिताञ्जली शर्माले विद्यार्थीहरूलाई बाल अधिकारको पहिचान, सामाजिक सञ्जालमा हुने जोखिम, किशोरावस्थामा आउने परिवर्तन र मानसिक स्वास्थ्यको महत्त्वबारे जानकारी गराईन्।

WhatsApp Image 2025-12-26 at 19.50.36

कुल ७३ जना विद्यार्थीहरू सहभागी रहेको उक्त सत्रमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो। अन्तरक्रियात्मक शैलीमा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले अनलाइन सुरक्षा र आत्म(हेरचाहका उपायहरूबारे आफ्ना जिज्ञासा राखेका थिए। कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा सुरुवाती हिचकिचाहट देखिए तापनि पछि विद्यार्थीहरूले सक्रियतापूर्वक सहभागिता जनाएका थिए।

सहभागीहरूले यस्ता कार्यक्रमले सही निर्णय लिन र समस्या पर्दा सहयोग खोज्न आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको समापन गर्दै आयोजकले आगामी दिनमा विद्यार्थीका साथै अभिभावक र शिक्षकहरूलाई समेत समेटेर यस्ता चेतनामूलक अभियानलाई निरन्तरता दिने लक्ष्य राखेको छ।