विराटनगर । कोशी प्रदेश सभा अन्तर्गतको न्याय, प्रशासन तथा विधायन समितिको सोमबार बसेको बैठकले प्रदेशका १४ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका पदाधिकारी र प्रदेश यातायात व्यवस्था कार्यालयका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ। समितिका सभापति कमला दर्नालका अनुसार, बैठकले कोशी प्रदेशका सबै जिल्लामा गठित भूमि आयोगका अध्यक्ष र एक–एक जना कर्मचारीलाई प्रदेश सभा सचिवालयमा निमन्त्रणा गरी एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
त्यसैगरी, समितिको आगामी कार्ययोजना अन्तर्गत जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको यातायात व्यवस्था कार्यालय सुनसरीको स्थलगत अनुगमन गर्ने र प्रदेशका सबै यातायात कार्यालय प्रमुखहरूलाई बोलाएर कार्यप्रगतिका बारेमा छलफल गरिने तथा सेवा प्रवाहलाई सहज बनाउने बिषयमा छलफल गर्न लागेको समितिले जनाएको छ।
बैठकमा उपसमितिको कार्यप्रगतिबारे भएको छलफलमा संयोजक रमेश कुमार बस्नेतले आफ्नो जिम्मेवारीमा रहेका कामहरू सम्पन्न गरी आगामी माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै, समितिको गत भदौ ३१ गते बसेको जुम बैठकले गरेको जेन्जी आन्दोलनका क्रममा प्रदेशमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सभासँग माग गर्ने निर्णयलाई आजको बैठकले अनुमोदन गरेको छ।
समितिले विगतका बैठकहरूका निर्णयहरूको समीक्षा गर्दै बाँकी कार्यहरू कार्यान्वयनका लागि समन्वय गर्न सभापति दर्नाललाई जिम्मेवारी दिएको छ। बैठकमा कोशी प्रदेश सभाको बैठक सञ्चालनका लागि आवश्यक तयारी चाँडो गर्न सभामुखको ध्यानाकर्षण गराउने विषयमा पनि छलफल भएको सभापति दर्नालले जानकारी दिइन्। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्दै उक्त प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरी प्रदेश सभाको आगामी बैठकमा पेस गर्ने निर्णय समेत गरेको छ।
















